प्रेम र रोशन फाइनलमा



नेपाल समाचारपत्र,काठमाडांै
स्वयम्भुका प्रेमप्रसाद पुन र नेपाल आर्मी क्लबका रोशन नगरकोटी रुस्लान राजधानी आर्चरी च्याम्पियनसिपअन्तर्गत पुरुष रिकर्भतर्फ फाइनल पुगेका छन्।

१२औं सागका कांस्य विजेता प्रेमले कास्कीका असिम शेरचनलाई हराउँदा रोशनले स्वयम्भुका रमेश भट्टचनलाई समान ६–२ अंकको अन्तरले हराएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा जारी प्रतियोगिताको पुरुष कम्पाउन्डमा द बेस्ट आर्चरीका प्रजित अग्रवाल फाइनलमा प्रवेश गरे। प्रजितले राजधानीका विवेकसेन गुरुङलाई १३७–१३४ ले हराए।

त्यसै गरी सुदूरपश्चिमाञ्चलका होमबहादुर थापा मगरले राजधानीका सनातन मल्ललाई १४०–१३६ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएका छन्।
त्यस्तै स्ट्यान्डर्ड बो (मिक्स) इभेन्टमा आर्मीका पवन राई र बेस्ट आर्चरीकी ग्रिष्मा गुरुङले फाइनलमा स्थान पक्का गरे।

पुरुष खुला ट्रेडिसनलमा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले युनाइटेड मुस्ताङ क्लबका राजु गुरुङ तथा नेपाल छन्त्याल समाजका धर्मेन्द्र छन्त्यालले म्याग्दी मगर समाजका जितेन्द्र रोका मगरलाई समान ६–० ले निराश पार्दै फाइनल यात्रा तय गरे।

महिला रिकर्भको फाइनलमा राष्ट्रिय कीर्तिमानधारी आर्मीकी ज्ञानु अवाले र कास्कीकी रश्मी दर्लामी भिड्ने भएका छन्। ज्ञानुले कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० ले हराइन्। रश्मीले आर्मीकी आइशा तामाङलाई ६–२ ले हराएका थिए।

प्रतियोगिता राजधानी न्युज पब्लिकेसनको १७ औं वार्षिक उत्सवको अवसरमा आयोजित भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्