गणना फटाफट,एमाले अगाडि



डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विपिन ओझा र उपमेयरमा सोही पार्टीकी संगीता भण्डारी विजयी भएपछि विजय जुलुसमा र बाजुराको बडीमालिका नगरपालिकाको मेयरमा विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार पदम बडुवाललाई बोकेर डुलाउँदै कार्यकर्ता । तस्वीर ः नेस

नेपाल समाचारपत्र,काठमाडौं

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अहिलेसम्मको मतपरिणाम हेर्दा कांग्रेस र एमालेबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ। मतगणना जारी रहँदा यो समाचार तयार पार्दासम्म ३७ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ।

प्राप्त नतिजाअनुसार एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा देखिएको छ। एमालेले जितको स्थानीय तहमा अमरगढी नगरपालिका डडेल्धुरा, मस्टा गाउँपालिका बझाङ, थलारा गाउँपालिका बझाङ, बित्थडचिर गाउँपालिका बझाङ, गौमुल गाउँपालिका बाजुरा, पाण्डवगुफा गाउँपालिका बाजुरा, पञ्चेश्वर गाउँपालिका बैतडी, जन्तेढुंगा गाउँपालिका खोटाङ रहेका छन्।

त्यसै गरी रामप्रसाद राई गाउँपालिका भोजपुर, मैवाखोला गाउँपालिका ताप्लेजुङ, लेकम गाउँपालिका दार्चुला, त्रिवेणी सुस्ता गाउँपालिका नवलपरासी, दुर्गाथली गाउँपालिका बझाङ, ताप्ली गाउँपालिका उदयपुर, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका धनकुटा, अपि हिमाल गाउँपालिका दार्चुलामा पनि नेकपा एमालेले जित हासिल गरेको छ।

अग्रताको हिसाबले एमालेसँग प्रतिस्पर्धामा रहेको कांग्रेसले २ नगरपालिकासहित १३ तहमा जित हासिल गरेको छ। कांग्रेसले जितेका स्थानीय तहमा महाकाली नगरपालिका दार्चुला, बडिमालिका नगरपालिका बाजुरा, छेडेदह गाउँपालिका बाजुरा, काँडा गाउँपालिका बझाङ, चिचिला गाउँपालिका संखुवासभा, सिलिचोङ गाउँपालिका संखुवासभा, गुल्मी दरबार गाउँपालिका गुल्मी, आलिताल गाउँपालिका डडेल्धुरा रहेका छन्।

त्यस्तै भागेश्वर गाउँपालिका डडेल्धुरा, गन्यापदुरा गाउँपालिका डडेल्धुरा, केआईसिंह गाउँपालिका डोटी, हिमाली गाउँपालिका बाजुरा, ऐंसेलुखर्क गाउँपालिका खोटाङमा पनि कांग्रेसले नै जितेको छ।

त्यस्तै, माओवादीले ७ स्थानीय तहमा जित हासिल गरेको छ। माओवादीले जितेका स्थानीय तहमा लिखुपिके गाउँपालिका सोलुखुम्बु, महाकुलुङ गाउँपालिका सोलुखुम्बु, पुथा उत्तरगंगा गाउँपालिका रुकुम, बंगलाचुली गाउँपालिका दाङ, भूमे गाउँपालिका रुकुम, अजयमेरु गाउँपालिका डडेल्धुरा र सिस्ने गाउँपालिका रुकुम रहेका छन्।

राष्ट्रिय जनमोर्चाले प्युठानको मल्लरानी गाउँपालिका जितेर स्थानीय निकाय निर्वाचनमा जितको खाता खोलेको छ। अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ७ को मत परिणाम आएको छ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले १ सय १५ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले १ सय १० स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ३५ स्थानमा अग्रता कायम गरेको छ। राप्रपाले ३ स्थानमा अग्रता कायम गरेको छ भने फोरम लोकतान्त्रिकले पनि ३ स्थानमा नै अग्रता कायम गरेको छ। संघीय समाजवादी फोरमले ४ स्थान र अन्यले २ स्थानमा अग्रता लिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्