८५ प्रतिशत पाइप बिच्छ्याउने काम सकियो,दशैंमा आउला त मेलम्ची ?



सुरेश तामाङ, काठमाडौं
मेलम्ची खानेपानीका नाममा राजधानीबासीले धूलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा मेलम्ची आउला कि नआउला? अझै पनि प्रश्न उब्जिरहेको छ। यद्यपि यसबीचमा काम पनि निकै भएको छ।

सुरुङ मार्ग हुँदै मेलम्चीखोलादेखि काठमाडौं ल्याइने खानेपानीलाई वितरण गर्न बिछ्याइरहेको पाइपलाइनको काम अहिलेसम्म ८५ प्रतिशत मात्र सम्पन्न भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना–२ ले खानेपानीको लाइन बिछ्याउने काम ८५ प्रतिशत सकेको जनाएको छ।

‘हामीले खानेपानीको पाइपलाइन विस्तारको कामलाई अन्तिम चरणमा पुर्याएका छौं’, निर्देशनालयका प्रवक्ता लिला ढकालले भन्नुभयो– ‘हामीले ८५ प्रतिशतको हाराहारीमा पाइपलाइन बिछ्याएका छौं। बाँकी कामलाई तीव्रता दिएका छौं।’

निर्देशनालयअन्तर्गत रहेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्ची उपआयोजना–२ का लागि हाल उपत्यकाको ४० स्थानमा खानेपानीको पाइपलाइन विस्तार गरिरहेको छ। जसमा १ हजार २ सयभन्दा बढी श्रमिकले दिनरात काम गरिरहेका छन्। निर्देशनालयले पानी वितरणका लागि थोक वितरण प्रणाली, पानीपोखरी निर्माण, वितरण, सञ्जाल सुधार तथा क्षेत्रगत मापन इकाइको स्थापना गरी घरघरमा धारा वितरणको काम तीव्र गतिमा गरिरहेको छ।

निर्देशनालयले थोक वितरण प्रणालीअन्तर्गत ६० किमि पाइपलाइन विस्तार गर्नुपर्नेमा हाल ५६ किमिको हारहारीमा पाइपलाइन बिछ्याइसकेको छ भने ६ सय ७० किमि वितरण सञ्जाल सुधारअन्तर्गत ५ सय ६५ किमीको हाराहारीमा पाइपलाइन बिछ्याउने काम सम्पन्न भइसकेको प्रवक्ता ढकालले बताउनुभयो।

उप–आयोजना २ ले महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमल्टार र बालाजुमा ५ वटा खानेपानी ट्यांकी निर्माणको काम सम्पन्न गरिसकेको छ भने त्यहाँ इन्टर कनेक्सन र टेस्टिङ गरिरहेको निर्देशनालयले जनायो। त्यस्तै गरी टिगनी, कीर्तिपुर र आरुबारीमा निर्माणाधीन पानी ट्यांकीको प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ भने भक्तपुरको कटुन्जेमा ट्यांकी निर्माणको काम भरखरै शुरू भएको छ।

 

मेलम्चीको पानी ल्याउन गएको वर्षको माघ महिनापछि काठमाडौंका मुख्य र सहायक सडक गरी ४० ठाउँमा एक साथ पाइप बिछ्याउने काम भएको थियो।

रिङरोड, शहरकाभित्री खण्ड पुग्ने मुख्य सडक र अन्य सहायक सडकका विभिन्न ११ खण्डमा विभाजन गरेर पाइप बिछ्याउने काम निर्देशनालयले गरिरहेको छ।

खानेपानीको पाइप बिछ्याउन शहरको भित्री बाटो, गल्ली, सडक र फुटपाथलगायत सडकपेटीसमेत भत्काइएपछि निर्देशनालयले जस्ताको तस्तै पार्न कालो पत्रेसमेत गरिरहेको भए पनि घाम लाग्दा देखिने धुलोलाई कम गर्न भने सकेको छैन।

आउने दशैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने लक्ष्यका साथ करिब ८४ हजार घरधुरीमध्ये ३७ हजार घरधुरीमा धारा जडान गरिसकिएको छ। उपआयोजना–१ ले पनि सुरुङ निर्माण र सुन्दरीजलमा पानीप्रशोधन केन्द्रको निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्