कांग्रेस-माओबादीको टाउको दुखाई, निर्वाचन आयोगको कडा निर्देशन पछि मतगणना रोकीएको दमकमा के हुन्छ अब ?



नेपाल समाचारपत्र, काठमाडौं ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा मत गणना स्थगित भएको छ । गणनाको क्रममा विवाद सिर्जना भएपछि झापाको दमक नगरपालिकाको मत गणना स्थगित भएको हो ।
मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको तथा निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको आरोप लगाउँदै कांग्रेस, माओबादी केन्द्र, राप्रपा तथा अन्य स्वतन्त्र उम्मेद्धारहरुले मतगणनामा सहभागी नहुने बताएपछि हाललाई गणना कार्य स्थगित भएको छ । आफ्ना उम्मेदवारलाई जिताउन निर्वाचनमा खटिएका कर्मचारी लागि परेको र सुरक्षा संयन्त्र समेत सहयोगी बनेको उनीहरुको आरोप छ ।

वडा नम्बर १ को मत गणना सम्पन्न भईसक्दा पनि मत परिणाम सार्वजनिक गर्न आलटाल गरेको भन्दै असन्तुष्ट दलका कार्यकर्ताले मतगणना स्थल रहेको दमक नगरपालिका बाहिर नाराबाजी गरेका छन् ।

स्थिति तनावपुर्ण हुनसक्ने भन्दै त्यहाँ बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । बिहिबार राती ११ बजेयता दमक नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छैन । दलहरुले एमालेका वडा अध्यक्षका उम्मेदवारले हार्ने निश्चित भएपछि निर्वाचन अधिकृतले परिणाम उल्टाउन चलखेल गरेको आरोप लगाएका छन् ।

एमाले बाहेका अन्य दलहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्ना ४ बुँदे माग अघि सारेका छन् । माग पुरा नभएसम्म मतगणनामा सहभागी नहुने उनीहरुले बताएका छन् ।

उनीहरुले निर्वाचनको लागि खटाईएका निर्वाचन अधिकृत बेदप्रसाद फुयालको ब्यबहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले एमालेलाई जिताउन लागि परेको आरोप लगाएका छन् । फुयाललाई फिर्ता बोलाएर अर्को निर्वाचन अधिकृत खटाउन, दमक नगरपालिकाको सुरक्षाको जिम्मेवारी लिएका इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्बु अमुक दलको प्रभावमा परेको आरोप लगाउँदै अर्को सुरक्षा अधिकारीको ब्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

मत गणना कार्यलाई प्रभावित पार्न मतगणना स्थलमा गएर दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले मत गणनामा हस्तक्षेप गरेको भन्दै त्यहाँ प्रवेशमा रोक लगाईनु पर्ने तथा मत परिणाम चाँडो सार्वजनिक गर्नु पर्ने माग उनीहरुले अघि सारेका छन् ।

उनीहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत स्वतन्त्र सहित नगर प्रमुखका ८ उम्मेदवारले हस्ताक्षर गरेका छन् ।

यता निर्वाचन आयोगले सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि नआए पनि मतगणना अघि बढाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

साथै, आयोगले उम्मेदवार वा मतगणना प्रतिनिधिले मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अघि बढाउन पनि भनेको छ ।

 

आयोगको शुक्रबार बसेको बैठकले मतगणनामा सबै वा केही उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भ एपनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गर्न उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० मा ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम कानून बमोजिम भएको मानिने छ’ भन्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्