रुसी विपक्षी नेताका हत्यारा सार्वजनिक



 

मस्को, (एजेन्सी)
एक रुसी अदालतले प्रभावशाली विपक्षी राजनीतिज्ञ बोरिस नेमस्तोभको हत्यामा पाँचजना चेचेन पुरुषको हात रहेको पत्ता लगाएको छ। जाउर ददायभ नामक व्यक्तिले सन् २०१५ को फेब्रअरीमा क्रेमलिननजिक राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा पूर्वप्रधानमन्त्री नेमस्तोभको गोली हानी हत्या गरेको बताइएको छ। ददायभलाई अन्य चार व्यक्तिले सहयोग गरेको बताइएको छ। तिनीहरू पाँचै जनाले नेमेस्तोभको हत्याका लागि कुल २ लाख ५० हजार अमेरिकी डलर लिएको आरोप लगाइएको छ।

तर ती सबैले सम्पूर्ण अभियोग अस्वीकार गरेका छन्। तर नेमेस्तोभका परिवारले उक्त हत्याका लागि आदेश दिने मुख्य अपराधी भने कहिल्यै पत्ता नलाग्न सक्ने चिन्ता व्यक्त गरेको छ।

लगातार आठ महिना लामो सुनुवाइपछि राजधानी मस्कोस्थित अदालतले तिनीहरूलाई अपराधी करार गरेको हो। जाउर ददायभ चेचेन सेनाको विशेष इकाइका पूर्व सदस्य हुन्। अन्य अभियुक्तमा अन्जोर गुवासेभ, सागिद गुवासेभ, रामजान बाखायभ र तामेर्लान एस्कर्खानोभ रहेका छन्। अर्का छैठौं अभियुक्त बेस्लान सावानोभको चेच्नियास्थित हिरासतमै मृत्यु भइसकेको छ। ५५ वर्षको उमेरमा सन् २०१५ को २७ नोभेम्बरमा नेमस्तोभलाई क्रेमलिनदेखि केही मिटर मात्र पर गोली हानिएको थियो।

नब्बेको दशकमा उनी तत्कालीन राष्ट्रपति बोरिस यल्सिनका प्रथम उपप्रधानमन्त्री रहेका थिए। युक्रेनको द्वन्द्वमा रसियाको भूमिका रहेको भन्ने बारेको एउटा प्रतिवेदनमा काम गरिहेको अवस्थामा उनको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्