चिली फाइनलमा



 

मस्को, (एजेन्सी)
गोलरक्षक क्लाउडिओ ब्राभोको उत्कृष्ट प्रदर्शनसँगै चिली पहिलो सहभगितामा नै कन्फेडरेसन कपको फाइनलमसम्म पुग्न सफल भएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार राति भएको पहिलो सेमिफाइनलमा चिलीले युरोपियन च्याम्पियन पोर्चुगललाई टाइब्रेकरमा हराएर फाइनलको यात्रा सम्भव पारेको हो । टाइब्रेकरमा चिलीका कप्तान तथा गोलरक्षक ब्राभोले लगातार पोर्चुगलको तीन पेनाल्टी रोकेका थिए । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो । जसमा ब्राभो नायक सावित बने। उनले एकपछि अर्को गरी पोर्चुगलका तीनवटै प्रहारलाई छेकेपछि चिली ३–० ले विजयी बन्यो।

टाइब्रेकर क्रममा पहिलो प्रहार चिलीका आर्टुरो भिडालको सफल प्रहार भएको थियो। त्यसपछि प्रहार गर्न आएका पोर्चुगलका रिकार्डो करेज्माको दिशालाई सही ठम्याएका गोलरक्षक ब्राभोले दायाँ साइडमा उत्कृष्ट डाइभ गर्दै असफल बनाए । यसै गरी चिलीका दोस्रो प्रहारकर्ता चाल्र्स एरेन्गग्वेजले गोल गरे भने पोर्चुगलका माउटिन्होको प्रहारलाई पनि दायाँ साइडमा नै डाइभ गर्दै ब्राभोले बचाएपछि पोर्चुगलमाथि दवाब सिर्जना भएको थियो ।

यता चिलीका स्टार खेलाडी एलेक्सी सान्चेजले तेस्रो प्रहारलाई पनि बिना गल्ती गोलमा परिणत गरेपछि पोर्चुगल ‘गर या मर’ को स्थितिमा पुगेको थियो । तेस्रो प्रहारका लागि आएका पोर्चुगलका अनुभवी खेलाडी नानीले भने किपरको बायाँ साइड च्यापेर पेनाल्टी प्रहार गरे । तर यसअघि दुईपटक दायाँ डाइभ गरी बल छेकेका गोलरक्षकले यसपटक बायाँ डाइभ गर्दै सहजै बललाई रोकेपछि दक्षिण अमेरिकी च्याम्पियन चिलीले पहिलोपटक कन्फेडरेसन कपको फाइनल यात्रा तय गर्यो ।

यसअघि खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले गोलका लागि भरमग्दुर प्रयास गरेका थिए । खेल अवधिभर लामो–लामो पासमार्फत् पोर्चुगलले चिलीलाई दबाबमा राख्न खोजेका थिए । जसको प्रतिउत्तरमा चिलीले पनि छोटो तथा छिटोछरिटो पासमार्फत् काउन्टर अट्याक गर्दै पोर्चुगलका रक्षापंक्तिलाई व्यस्त पारेका थिए । जसमध्ये खेलको अतिरिक्त समयको अन्तिम एक मिनेट बाँकी छँदाको आक्रमण सम्झन लायक बन्यो । चिली शतप्रतिशत गोल हुने सम्भावनाबाट विमुख हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्