मतदातालाई एमाले महासचिवको धन्यवाद



 

पोखरा, (नेस)
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दोस्रो चरणको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न मतदाताबाट भएको सहयोग प्रति धन्यवाद दिनुभएको छ।

सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षड्यन्त्र गरेपनि पहिलो र दोस्रो चरणको निर्वाचन सौहार्दपूर्ण भएको बताउँदै उहाँले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन नसके अहिलेको संसद् नरहने र संविधान कार्यान्वयन पनि नहुने भएकाले तोकिएकै मितिमा सबै निर्वाचन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रेस चौतारी नेपाल कास्कीद्वारा बिहीबार पोखरामा आयोजित कार्यक्रममा उहाँले औचित्य नभएको संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्नेसमेत बताउनुभयो।

पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं. २ मा स्थानीय तहको संख्या बढाउने, अंगिकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने समेत बताउनुभयो। संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उहाँले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राख्नुभयो।

महासचिव पोखरेलले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले पहिलोको भन्दा राम्रो मतपरिणाम ल्याउने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्