पेट भरिएन दही चिउराले



 

कृष्णउदास खनाल, वीरगन्ज
गएको वर्ष असार प्रन्धको दिनसम्ममा पर्साको धोबिनीकी कृषक सुकनी चमैनले आफ्नो दुई बिघा क्षेत्रफल खेतको ९० प्रतिशत रोपाइँ सकेकी थिइन् तर यसपालि धान रोप्ने त के कुरा धान रोपाइँका लागि राखिएको बिउसमेत सुक्न थालेपछि उनी चिन्तित छन्।

मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा चिनिने असार अनि प्रन्ध असारको दिन सरकारले धान दिवस मनाउने गरेको भए पनि पर्साका कृषकलाई भने असार प्रन्ध र धान दिवसले छुँदै छोएन। हुन त पछिल्ला केही वर्षयता पर्साका कृषकहरूले धान रोपाइँ गर्न राम्रोसँग पाएका छैनन् तैपनि यो वर्ष भने असार प्रन्धसम्ममा पर्सामा जम्मा १५ प्रतिशत मात्रै धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ।

उचित सिँचाइ तथा मल र बिउको अभावमा समयमा पर्साका कृषकले धान रोपाइँ गर्न नपाएका हुन्। चर्को खडेरीका कारण पनि कृषकहरूले धान रोपाइँ गर्न पाएका छैनन्। जलवायु परिवर्तनको असर तराईका जिल्लाहरूमा पनि देखिएका कारण रोपाइँ ढिला हुन थालेको विज्ञहरूले बताएका छन्। पर्सामा असारको अन्तिम साताबाट नै राम्रोसँग रोपाइँ हुने गरेको छ। असारको अन्तिम सातादेखि साउनको दोस्रो सातासम्ममा धान रोपाइँ गरेर सक्दा पनि कुनै समस्या नहुने जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र सिन्हाले बताए। यद्यपि असार प्रन्धको दिनमा तराई मधेसमा दही चिउरा खाने प्रचलनसमेत रहेको छ।

समयमा धान रोपाइँ गर्न नै नपाएपछि दही चिउराको महत्त्व पनि घट्ने गरेको पर्साको ठोरीका स्थानीय कृषक रामप्रसाद ढुंगानाले बताए। बिस्तारै दही चिउराको रौनक पनि यस क्षेत्रमा घट्दै गइरहेको उनी बताउँछन्। खास गरी तराई मधेसका नागरिकले असार प्रन्धको दिनलाई पर्वकै रूपमा लिने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्