कांग्रेस–एमालेबीच तीव्र प्रतिस्पर्धा



 

नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक गाउँपालिकामा विजय हासिल गरेका छन्। दोस्रो चरणअन्र्तगत भएको तीनवटा प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३ सय ७ स्थानको मतगणना शुरू भएको छ।

बझाङको मस्टा गाउँपालिकामा एमाले र काँडा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत र काँडा गाउँपालिका अध्यक्षमा कांगे्रसका राजेन्द्र बोहरा विजयी भएका छन्।

हालसम्म घोषित परिणामअनुसार नेकपा एमालेले ३२ वडा अध्यक्षमा निर्वाचित भएर पहिलो स्थान कायम गरेको छ भने नेपाली कांग्रेसले २४ वडा अध्यक्षमा विजय हासिल गरेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले ७ स्थानमा वडा अध्यक्षमा विजय भएको छ। पछिल्लो मतपरिणामअनुसार फोरम लोकतान्त्रिक ३, राप्रपा ३, फोरम–नयाँ शक्तिले २ स्थानमा जित हासिल गरेका छन्।

मतगणना शुरू भएका मध्ये ८२ स्थानमा कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेले ९० र नेकपा माओवादी केन्द्रले २५ स्थानीय तहमा अग्रता लिएका छन्। प्रारम्भिक मतगणनामा एमाले अघिअघि कांग्रेस पछिपछि रहेका छन्। त्यसै गरी संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन ४, फोरम लोकतान्त्रिक ३, राप्रपा २ तथा अन्यले ३ स्थानमा अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेले ४६ स्थानमा अग्रता लिएको छ। त्यस्तै प्रदेश नम्बर ५ मा २६ र प्रदेश नम्बर ७ मा २० स्थानमा अग्रता लिएको छ। त्यस्तै नेपाली कांग्रेसले प्रदेश नम्बर १ मा ३८, प्रदेश नम्बर ५ मा २२ र प्रदेश नम्बर ७ मा २३ स्थानमा अग्रता कायम गरेको छ।
यता नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ६, प्रदेश नम्बर ५ मा ११ र प्रदेश नम्बर ७ मा ८ स्थानमा अग्रता कायम गरेको छ। पछिल्लो मत परिणामअनुसार प्रदेश नम्बर १ मा एमालेले अग्रता लिएको छ भने प्रदेश नम्बर ५ मा पनि एमाले नै अगाडि रहेको छ। त्यस्तै नेपाली कांगे्रसले प्रदेश नम्बर ७ मा अग्रता कायम गरेको छ। आयोगले दोस्रो चरणको निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मतदान भएको जनाएको छ।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) मा प्राप्त विवरणअनुसार, प्रदेश नम्बर १ मा ७२ दशमलव ४९ प्रतिशत, प्रदेश नम्बर ५ मा ७५ दशमलव ३४ प्रतिशत र प्रदेश नम्बर ७ मा ७३ दशमलव ०५ प्रतिशत मतदान भएको थियो।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) मा प्राप्त विवरणअनुसार, हालसम्म प्रदेश नम्बर १ का ९०, प्रदेश नम्बर ५ का ५९ र प्रदेश नम्बर ७ का ५४ स्थानीय तहको मतगणना शुरू भएको हो। अब १ सय २७ स्थानीय तहको मतगणना शुरू हुन बाँकी रहेको आयोगले जनाएको छ। उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकोप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका संकलन हुने क्रममा रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्