पहिरो पीडितको गुनासो पुनर्निर्माण गरेको घर छोडेर कहाँ जानु ?



 

चिरञ्जीवी मास्के, दोलखा
भीमेश्वर नगरपालिका ९ लाकुरीडाडा कुतुदेमा मंगलबार रातिको पहिरोले पुरिएका दुई बालिकाको खोजी भइरहँदा छिमेकमा रहेका रिठ्ठे थामी घरमा भएको भाँडा वर्तन र अन्न पोको पार्दै थिए।

पहिरोले दुई घर पुरिँदा तीन जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए भने आसपासको १५ घर जोखिममा परेका थिए। पहिरोमा परी बेपत्ता भएका मध्ये शान्ती थामी, सन्तोषी थामी र लाटी थामीको शव भेटिएको छ। रोशनी थामी भने अझै बेपत्ता छिन्। पहिरोसंगै रहेको रिठ्ठेको घरको आँगन पनि बगेको थियो। खाद्यान्न पोको पार्दै गरेका रिठ्ठेले भने– ‘भएको जग्गा जमिन यही हो, अब यो ठाँउ छोडेर कता भौतारीने हो थाहा छैन।’

पहिरोले मङ्गले थामी र लाटी थामीको घर बगाएको थियो। आसपासका १५ घर धुरीमध्ये ६ घरधुरी तत्कालै सार्नुपर्ने अवस्थामा रहेको स्थानीय रमेश केसीले बताए। भूकम्पपछि धेरैले स्थाई आवास निर्माण गरिसकेको र केही भने टहरामै रहेका थिए। भूकम्पले घर भत्काएर धेरै समय टहरामा बस्नुपर्यो रिठ्ठेले भने – ‘सरकारले दिएको अनुदान रकममा दुःखजेलोबाट जम्मा गरेको पैसा थपेर स्थाई आवास बनाएको थिए त्यसमा पनि बस्न नपाउने भए।’

पहिरोले विस्थापित बनेका सुकुमान थामी पनि आफ्नो घर छोडेर स्कूलमा बस्नुपर्दा चिन्तित छन्। भूकम्पले भत्किएको घर भर्खरै पुनर्निर्माण गरेको थिए सुकुमानले भने – अब यो घरमा पनि बस्न पाइएन भने अर्को ठाँउमा कसरी घर बनाउन सकिएला र?

‘श्रीमती र दुई छोरी गुमाएका मङ्गले थामीलाई पनि परिवार गुमाएको पीडा जति छ, त्यतिनै एक्लो जीवन कहाँ कसरी बिताउने भन्ने चिन्ताले सताएको छ। खै परिवार पनि सबै गुमाए, बस्ने वास पनि छैन कसरी बाँकी जीवन बिताउने हो थाहा छैन’– मङ्गलेले भने। केही दिनदेखि परेको अविरल वर्षाले भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडास्थित कुतुदे, गोगने, डाँडागाँउ, लामापाते, आहलडाँडाको ९५ घर धुरी जोखिममा रहेको स्थानीय कुमार केसीको भनाइ छ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी पहिरो पीडितका लागि तत्काललाई स्थानीय विद्यालयमा बस्ने व्यवस्था मिलाइएको र दीर्घकालीन समाधान खोज्ने विषयमा छलफल भइरहेको बताउँछन्। नगरपालिकाले पहिरो पीडितलाई बुधबार खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको थियो भने परिवार गुमाएका मङ्गले थामीलाई स्थानीय प्रशासनले ४० हजार राहत दिएको छ।

प्रतिक्रिया दिनुहोस्