क्षयरोग केन्द्रका निर्देशक सेवानिवृत्त, सबैको चासो नयाँ निर्देशकमा



 

भगवती तिमिल्सिना, काठमाडौं

मेर हदका कारण राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीका वर्तमान निर्देशक डा.शरदचन्द्र वर्मा बिहीबारदेखि सेवानिवृत्त हुनुभएको छ।

बिहीबार अन्तिम दिन कार्यालय समयसम्म डा.बर्माले काम गरिरहनुभएको थियो। उहाँको पदावधि सकिनासाथ केन्द्रको निर्देशकमा को आउँछ भनी चासो र चर्चाको विषय बनेको छ।

यता स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीको अध्यक्षतामा बिहीबार साँझ बसेको बैठकले कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने बारेमा चौतर्फी दबाब आएका कारण छलफल लम्बिएको मन्त्रालय स्रोतले जनाएको छ।

केन्द्रमा निर्देशक पदबाट डा.बर्माले अवकास पाएपछि शुक्रबारदेखि क्षयरोग केन्द्र निर्देशकविहीन हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका सचिवले कानूनी रूपमा बिहीबारै निर्णय गर्नुपर्ने हो मन्त्रालयका कर्मचारी बताउँछन्। यतिबेला सचिव रेग्मी चौतर्फी दबाबका कारण सही निर्णय गर्न नसक्ने अवस्थामा रहेको पनि स्रोतको दाबी छ।

स्वास्थ्य सचिव डा. रेग्मीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केन्द्रको निर्देशकको विषय ११औं तहको हुनुपर्ने र यसका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रीको आवश्यक पर्छ। तत्कालका लागि मन्त्रालयले निमित्त निर्देशकबाट काम चलाउने व्यवस्था गर्नेछ।’

उता केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १०औं तहका वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन डा. मोहन प्रसाईंलाई ३ महिनाअघिदेखि नै केन्द्रमा रहेका अधिकांश कर्मचारी चिकित्सकले हस्ताक्षरसहित स्वास्थ्य मन्त्री गगन थापालाई बुझाएका थिए। केन्द्रमा विगतमा पनि ३ जना फिजिसियन चिकित्सकहरूले १०औं तह भए पनि निमित्त निर्देशक भएर केन्द्रको सुधारमा काम गरिसकेको राम्रो अनुभव गरेको कर्मचारीहरू बताउँछन्।

केन्द्रका कर्मचारीका अनुसार विगतमा डा.पुष्पा मल्ल १०औं तहमै भएर पनि अस्पताल सुधारका लागि निकै राम्रो काम गर्नुभएको थियो। यसकै आधारमा डा.प्रसाईं सेकेन्डम्यान भएको र प्रथम व्यक्ति अवकास पाएपछिको जिम्मेवार व्यक्ति भएकाले निर्देशकको जिम्मेवारी दिन माग गरिएको हो।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा भएको चलखेलका कारण परिवार स्वास्थ्य महाशाखामा असक्षम भएको भन्दै बालरोग विशेषज्ञ डा.आरपी विच्छालाई हटाइयो। त्यसको लगत्तै उनै डा.विच्छालाई दबाब र भित्री चलखेलमा सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको निर्देशकमा नियुक्त गरिएको थियो।
डा.विच्छाको दरबन्दी कान्ति बालअस्पतालमा बालरोग विशेषज्ञ पदमा भए पनि उहाँलाई काजमा उक्त केन्द्रमा खटाइएको छ। मन्त्रालयबाट स्वास्थ्य मन्त्री गगन थापाले आफैंले हटाएका व्यक्ति डा. विच्छालाई आफन्तको दबाबमा मन्त्री थापाले तीन महिनाअघि राष्ट्रिय क्षयरोग केन्द्रको पनि निर्देशक बनाउने शर्तमा जिम्मेवारी दिएकाले अब क्षयरोग केन्द्रमा विच्छालाई भित्र्याउने खेल भइरहेको केन्द्रका कर्मचारीहरू बताउँछन्।

केन्द्रमा विगतमा सोही सहमतिअनुसार डा.बर्मा सेवा निवृत्त भएलगत्तै सार्क क्षयरोग केन्द्रका वर्तमान निर्देशक डा. विच्छालाई नै केन्द्रको निर्देशकसमेत बनाउने चलखेल भइरहेको बुझिएको छ।

राष्ट्रिय क्षयरोग केन्द्रका कर्मचारीले क्षयरोग केन्द्रमा छातीरोग विशेषज्ञ नै हुनुपर्ने, नभएमा आफूहरू आन्दोलनमा उत्रने जनाएका छन्। यता ११औं तहको बढुवाको तयारी भइरहेको र मन्त्रीसमेत नियुक्ती नभएको अवस्थामा केन्द्रको निर्देशक तत्कालका लागि तोक्न नमिल्ने स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ। सम्भवतः ११औं तहको बढुवाको पर्खाइमा रहनुभएको नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा.केदारनर्सिङ केसीको पनि चर्चा र सम्भावना बढेर गएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले अहिलेसम्म स्वास्थ्यजस्तो सबैको चासो र आवश्यकता रहेको यति महत्वपूर्ण मन्त्रालयमा मन्त्री नतोकिएको अवस्था छ। केन्द्रमा निर्देशक हुन ११औं तह हुनुपर्ने भए तापनि यसअघि १०औं तहका ३ जना चिकित्सक कामु निर्देशक भएर चलाइसकेका हुनाले डा. प्रसार्इं निर्देशक बन्ने सम्भावना पनि उत्तिकै छ। र, उनलाई नै निर्देशक दिनुपर्ने केन्द्रका कर्मचारीको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस्