तामाङद्वारा विद्यार्थीलाई सहयोग



 

नेपाल समाचारपत्र
रामेछाप
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका बिबी तामाङले पशुपति माविका छात्राछात्रलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ। विगत पाँच वर्षदेखि विद्यालयका जेहनदार विद्यार्थीका लागि तामाङले वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ।

पशुपति माविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा र उपाध्यक्ष गीता विष्टसहितको सहभागितामा छात्रवृत्ति प्रदान गरिएको हो। तामाङले वार्षिक ४० हजार रुपियाँको कापी कलम, डिक्सनरीलगायतका सामग्री प्रदान गर्नुभएको छ।

फाइव फिङ्गर प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका तामाङले विद्यालयमा छात्रवृत्ति प्रदान गर्नुका साथै हिलेदेवीको सडक निर्माणको काममा समेत लगानी गर्नुभएको छ। समाजसेवी तामाङले आफ्नो कमाइबाट बचेको केही लगानी सामाजिक कार्यमा खर्च गरिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘आम्दानीको केही रकम सामाजिक कार्यमा लगाउँदै आएको छु। विद्यालयको सिफारिस अनुसार जेहनदार विद्यार्थीहरूका लागि सहयोग प्रदान गरेको छु।’ विगत पाँच वर्षदेखि विद्यालयलाई सहयोग गर्दै आएको र अगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्