६ हजार विद्यार्थीलाई सेनाको तालिम



 

नेपाल समाचारपत्र
हेटौंडा
राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलले विद्यार्थीका लागि जुनियर तालिम शुरू गरेको छ। १ सय दिन चल्ने तालिमको शुभारम्भ गर्दै सुनाचुरीस्थित श्री १ नं जगदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र थापाले विद्यार्थीलाई अनुशासन र शारीरिक फिट्नेस कायम राख्न तालिम चलाइएको बताए।

उनले रोटरी माविबाट ३६ छात्राछात्रलाई तालिम प्रदान गरी मानसिक र शारीरिकरूपमा स्वस्थ पार्ने लक्ष्य राखिएको बताए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिकराम बानियाँले विद्यालयमा नेपाली सेनाले कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
राष्ट्रिय सेवा दलले ‘अनुशासन नै राष्ट्रको मूल जग हो’ भन्ने नारासहित विद्यार्थीलाई ८० दिन विद्यालय परिसरमा तालिम प्रदान गर्नेछ भने बाँकी समय मोरङमा तालिम प्रदान गरिनेछ। उत्कृष्ट विद्यार्थीहरूलाई वैदेशिक यात्रासमेत गराइने राष्ट्रिय सेवा दलले जनाएको छ।

तालिमअन्तर्गत शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो पिटी र आईकिदोको प्रशिक्षण हुनेछ भने ड्रिलअन्तर्गत खाली हात ड्रिल, खुकुरी ड्रिल र सेरेमोनियल ड्रिल सिकाइनेछ। राष्ट्रिय सेवा दलले आर्थिक वर्ष २०७४⁄०७५ मा ७४ जिल्लाका १ सय ६५ विद्यालयका ६ हजार विद्यार्थीलाई यस्तो तालिम प्रदान गर्नेछ। अर्काे आर्थिक वर्षमा थप १ हजार ५ सय बढाएर ७ हजार ५ सय जनालाई यस्तो तालिम दिइने लक्ष्य राखिएको राष्ट्रिय सेवा दलले जनाएको छ।
तालिम शुभारम्भ कार्यक्रममा विद्यार्थी, अभिभावकहरू, शिक्षक, मनहरी युवा क्लब अध्यक्ष सगुन स्यांतान र मनहरी एफएमका स्टेसन म्यानेजर शिवकुमार काशी, विद्यालय व्यवस्थापन समिति सदस्यलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्