नन्दराम जैशी, जुम्ला
महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानीको विकास गर्न जुम्लाका किशोरीहरूलाई सेनेटरी प्याड वितरण गरीएको छ। महिनावारीको समयमा प्याड प्रयोग गर्ने तरिकाबारे राम्रोसँग जानकारी नपाएका किशोरीहरूलाई सोही विषयमा जानकारी होस् र प्याड प्रयोग गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले जुम्लाका किशोरीहरूलाई सेनेटरी प्याड वितरण गरिएको हो।

हालै एक औपचारिक कार्यक्रमका बीच चन्दननाथ नगरपालिकाको १ लाख रकम सहयोग तथा नगर बाल सञ्जालको समन्वयमा चन्दननाथ उच्च मावि खलंगाबजार जुम्लाका २ सय ३५ जना छात्रलाई एक⁄एक प्याक सेनेटरी प्याड उपलब्ध गराइएको छ। प्याड पाएपछि किशोरीहरूले खुसी हुँदै महिनावारीको समयमा नियमित शारीरिक सरसफाइ गर्नुका साथै आगामी दिनमा अनिवार्य प्याड प्रयोग गर्ने बताएका छन्। प्याड वितरणका अवसरमा बोल्दै विद्यालयका सहायक प्रधानाध्यापक शिक्षिका बबिता शाहीले किशोरीहरूलाई विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि आगामी दिनहरूमा उनीहरूको प्याड प्रयोग गर्ने बानीको विकास हुने र महिनावारीको समयमा छात्राहरूले विद्यालय छाड्ने क्रम रोकिने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘सेनेटरी प्याड प्रयोग गर्न थालेपछि महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरूको उपस्थिति राम्रो रहनेछ। पहिले सरसफाइ सामग्री, प्याड प्रयोग तथा प्याड फेर्ने तरिकाको विषयमा किशोरीहरूमा राम्रो जानकारी नभएका कारण उनीहरूमा विद्यालय छोड्नुपर्ने बाध्यता थियो। अब त्यो समस्या टरेर जाने उहाँको भनाइ छ।

निमित्त महिला विकास अधिकृत बिन्दु कँवरले भन्नुभयो– ‘जुम्लाका किशोरीहरूमा महिनावारी भएपछि लजाउने, विद्यालय नजाने, टोलाउने जस्ता समस्या छन्। त्यो गर्नु खासै राम्रो होइन। महिनावारीको समयमा उनीहरूको भावना बुझी घरका अन्य परिवारले पनि साथ दिनुपर्दछ।’ महिनावारी भएपछि पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गरेमा त्यसलाई राम्रोसँग सफा गरी घाममा सुकाएर मात्र प्रयोग गर्न कँवरले किशोरीहरूलाई सुझाव दिनुभयो।

महिला सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले किशोरीहरूले सधैं बजारका सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने भन्दै घरमै भएका सफा कपडालाइ प्याड बनाएर प्रयोग गर्न अनुरोध गर्नुभयो। उहाँले भन्नुभयो– ‘प्याड प्रयोग नगर्दा ब्लड बगेर शरीरका अन्य भागमा तथा कपडामा लाग्न सक्छ, त्यसबाट जीवाणुहरूले संक्रमण गर्दा पछि पाठेघरमा समेत असर पर्छ।’ त्यसैले किशोरीहरू एक स्वस्थ आमा बन्नका लागि अहिलेदेखि शारीरिक स्वाथ्यमा ध्यान दिन जरुरी रहेको श्रेष्ठको भनाइ छ।

नगर बाल सञ्जालका अध्यक्ष ईश्वर खत्रीले नगरपालिका भित्रका नौवटा माध्यमिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै महिनावारी भएपछि किशोरीलाई हुने समस्याबारे अभिभावकले पनि बुझ्नुपर्ने बताउनुभयो।

LEAVE A REPLY