बन्दै हिमालपारिका विद्यालय



 

सन्तोष अधिकारी, गोरखा
हिले पनि गाउँका केटाकेटी पठनपाठन गर्ने व्यवस्थित विद्यालय छैन। चुमनुब्री गाउँपालिका–६ चुम्लिङ गाउँको सिद्धिगणेश प्राथमिक विद्यालयका केटाकेटीले मुस्किलले कक्षा ३ सम्म पढे पनि त्यसभन्दा माथिको पढाइलाई सबैले निरन्तरता दिनै सक्दैनथे। भूकम्पले त्यस गाउँमा तीन कक्षासम्म पढ्न पाउने बालबालिकाको सुविधालाई स्कुल ध्वस्त पारेर झन् धरापमा पार्यो। चुमनुब्री गाउँपालिका–७ का एक दम्पती धावा ग्यान्जेन लामा र उनकी श्रीमती फुञ्जो लामाले त्यस विद्यालयलाई उठाउने सपना देखे।

भूकम्पलगत्तै गाउँमा राहत र उद्धारमा खटिएको यो जोडीले गाउँको पुनर्निर्माण स्कुलबाट शुरू गर्ने निधो गर्यो। ‘गाउँका केटाकेटीलाई शिक्षा दिन सके मात्र गाउँको असल पुनर्निर्माण हुनेछ भन्ने सोच आयो’, ट्रेकिङ व्यवयायमा डेढ दशक बिताइसकेका लामाले भने– ‘हामी परिवारमा आपसमा सल्लाह गर्यौँ। दुवैको मञ्जुरीमा यो विद्यालय बनाउने निधोमा पुग्यौँ।’

विद्यालय बनाउने योजना बुनेको यो जोडीको सपना साकार हुन त्यत्ति सजिलो थिएन। भूकम्पकै कारण उत्तरी गोरखाको विभिन्न साविकका सात गाउँविकास समितिमा आवातजावत पूरै ठप्प थियो। हेलिकोप्टर नै आवतजावत गर्ने एक मात्र माध्यम थियो। तर पनि उनीहरूले हिम्मत हारेनन् स्कुल बनाएरै छाड्ने अठोट गरे। धावा लामा ट्रेकिङमा लागेकै कारण धेरै देशी तथा विदेशी साथीहरूसँग नजिकबाट चिनजान छ। आफ्नो फेसबुकको माध्ययमबाट तिनै चिनेजानेकालाई स्कुल बनाउन लागेको बारे जानकारी गराए। ‘जसरी भए पनि स्कुल त बनाउनु नै छ भन्ने सम्झेर काम शुरू गर्यौँ’, लामा भन्छन्– ‘मैले विभिन्न सामाजिक सञ्जालमा गो फन मि भन्ने लिंक नै बनाएर स्कुल निर्माणका लागि सहयोग आह्वान गरेँ।’ उनीहरूले आह्वान गरेको गो फन मिमार्फत् पाँचकोठे भवन बनाउने पैसाको जोहो भएको हो। थप पाँचकोठे भवन बनाउन सिड नेपाल र क्यान नेपाल, मनास्लु संरक्षण क्षेत्र, बीएनबी अमेरिका तथा बीएनबी न्युवर्क, तेन्जेन एर डोल्मा हेल्प नेपाल फ्रान्स, स्वर्गीय क्याप्टेन सुविके श्रेष्ठलगायतले सहयोग गरे। विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्न थालेपछि उनीहरूले विद्यालय निर्माणको कामलाई पनि अघि बढाए।

विद्यालयको पूरै डिजाइन भने गाउँकै इन्जिनियर सोनाम लामाले गरेका हुन्। उनले लामा जोडीलाई सहयोग गरे। विद्यालयको अहिले भूकम्प प्रतिरोधी बनेको छ। करिब ८० लाख रुपियाँ खर्च भएको लामा दम्पती बताउँछन्। विद्यालय निर्माणमा आवश्यक जस्तापाता, सिमेन्ट, रड सबै हेलिकोप्टरमार्फत उनीहरूले रड सिमेन्ट ढुवानी गरे। ‘सबै सामान हेलीमार्फत बोक्नुपर्ने धेरै खर्चालु लामाले भने– ‘तर पनि हामीले सबैको सहयोगले विद्यालय निर्माण सम्पन्न गर्यौँ। यसमा मलाई सबैभन्दा धेरै मेरै श्रीमती फुञ्जोको सहयोग छ।’ फुञ्जो अक्सिजनबिना संसारको छैटौं अग्लो हिमाल माउन्ट छोयुको अक्सिजनविनै सफल आरोहण गर्ने पहिलो महिलासमेत हुन्। फुञ्जोले सन् २०१४ बाट सिम्रिक एयरमार्फत लंगलाइन (हेलिकोप्टरमा झुन्डिएर गरिने काम) शुरू गरिन्। हिमाल चढ्न गएको मान्छे बिरामी भएमा वा अन्य कुनै समस्या परेमा हेलिकोप्टरबाट डोरीमा झुन्डिएर उनीहरूको उद्धार गर्ने उद्धारकर्ता समेत हुन् फुञ्जो। श्रीमान्को ट्रेकिङ क्षेत्र र फुञ्जोको यस क्षेत्रसँगै ट्रेकिङ क्षेत्रमा आबद्ध भएकाले उनीहरूलाई आर्थिक जोहो गर्न केही सजिलो भएको उनीहरू बताउँछन्। उनीहरूलाई सहयोग गर्छाैँ भनेर सहयोग नै नगर्ने विदेशीहरू पनि थुप्रै छन्। उनीहरूलाई हरबखत सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गुरुङसमेत हुन्।

उनीहरूले अहिले निर्माण गरिसकेको विद्यालयमा खानेपानीबाहेकका सबै संरचना तयार भइसकेको छ। खानेपानीका लागि पनि उनीहरूले नै सहयोग गरेका छन्। विद्यालयमा एउटा ठूलो हलसमेत छ। जहाँ गाउँमा केही कार्यक्रम भए, विद्यालयमा केही कार्यक्रम भए त्यसको प्रयोग गर्न मिल्छ। ‘हामीलाई कमाउन यही ठाउँ, यही भीरपाखा र हिमालले सिकायो’, लामाका दम्पतीले भने– ‘हामीले यो ठाउँका लागि केही नगरे गाउँको भविष्य के होला। हाम्रो छोरा नाति पुस्ताको हालत के होला ?’ विद्यालय बनाउन उनीहरूले सबै स्थानीय ज्यामीहरूलाई नै प्रयोग गरे।

जिल्ला शिक्षा कार्यालय गोरखाकाले पनि सो विद्यालयमा कक्षा पाँचसम्मको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ। ‘यस विद्यालयमा अन्य विद्यालयको तुलनामा विद्यार्थीको संख्या पनि धेरै छ’, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने– ‘अब पाँच कक्षासम्म सञ्चालन गर्न गाउँलेको पनि आग्रह छ।

प्रतिक्रिया दिनुहोस्