झापामा हरेक महिना २० जनाले गर्छन् आत्महत्या



 

उत्तम नेपाल, भद्रपुर
झापामा हरेक महिना २० जनाले आत्महत्या गर्ने गरेको पाइएको छ। मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्याजस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य राखेर अञ्चल प्रहरी कार्यालय मेची भद्रपुरले शुरू गरेको आत्महत्या न्यूनीकरण अभियानका क्रममा यस्तो फेला पारेको जनाएको छ।

अञ्चल कार्यालयले पहिलोपल्ट मेची अञ्चलका विभिन्न जिल्ला तथा स्थानहरूमा दुई महिनाअघि झापाको भद्रपुरबाट शुरू गरिएको अभियान सञ्चालनमा यस्तो तथ्यांक आएको मेची अञ्चल प्रहरी कार्यालयका एसएसपी पीताम्बर अधिकारीले बताए। भूकम्पपछिको ६ महिनामा आत्महत्या बढेको एसएसपी अधिकारीको भनाइ छ। बढ्दो आत्महत्यालाई न्यूनीकरण गर्ने प्रयासमा झापामा चैत्र १ गते सरोकारवालासँग बैठक बसी सोही महिनाको १६ गतेबाट अभियान शुरू गरिएको अधिकारीले जनाए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानसँग समन्वय गरी विभिन्न अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टरको उपस्थितिमा हालसम्म झापामा झापा बजार, दमक, बिर्तामोड, भद्रपुर, धुलावारी गरी पाँच र इलामका दुई स्थान फिकल र इलाम बजारमा अभियान सञ्चालन गरिसकिएको साथै छिट्टै झापाको कचनकवल गाउँपालिकामा गर्न लागिएकाले अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ। आत्महत्या बढ्नुमा साधनको पहुँच, विषादीको प्रयोग, स्वास्थ्य संस्थाले रोकथामको कुनै प्रयास नगर्नु, दृढ संकल्पजस्ता क्रियाकलापबाट हुने गरेको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए।

आत्महत्या रोकथामका प्रयासहरूमा सञ्चार, सम्पर्क र हेरचाह मुख्य रहेको उनको भनाइ छ। घटना हुने कारण पत्ता लगाउन धेरै समस्या हुने गरेको उनी बताउँछन्। मानिसले झुन्डिएर, कीटनाशक औषधिको प्रयोग, नदी, इनार, पोखरीमा डुबेर, उचाइबाट फाल हानेर, धारिलो हतियार प्रयोग, विष, लागूऔषध सेवन, शरीरमा आगो लगाएर हालसम्म यस्ता प्रकृतिका आत्महत्या गरेको उनले बताए। चेतना र शिक्षाका स्तर जति वृद्धि हुन्छ त्यति नै आत्महत्याको दर कम हुने गरेको विशेषज्ञको भनाइ छ। झापामा आत्महत्या गर्नेको संख्या चालू आवको वैशाखसम्म १ सय ८२ पुगेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्