पहिरोले दुईको मृत्यु, दुई बेपत्ता



 

चिरञ्जीवी मास्के, दोलखा
दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाँकुरीडाँडा कुतुदेमा मंगलबार राति पहिरोले दुई घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

राति करिब १२ बजेतिर गएको पहिरोमा परी मङ्गले थामीकी पत्नी करिब ३५ वर्षीया शान्ति थामी र ७० वर्षीया लाटी थामीको मृत्यु भएको छ।

मङ्गले थामीको १५ वर्षीय छोरी रोशनी थामी र १२ वर्षीय छोरी सन्तोषी (ऋतु) थामी बेपत्ता भएका छन्।

बेपत्ता दुई जना बालिकाको खोजी भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। घट्नास्थलमा खरीढुङ्गा बेस क्याम्पबाट प्रहरी नायब निरीक्षक (सई) देबबहादुर केसीको कमान्डमा ३० जना प्रहरी टोली खटाइएको पनि प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

मङ्गलेको घर आसपास जमिन केही चिरिएकाले अविरल वर्षा भएपछि छिमेकीले मङ्गलेको परिवारलाई अन्यत्र सर्न भनेका थिए। वर्षा निरन्तर भएपछि राति करिब १० बजेतिर छिमेकी वविता थामीले फोन गरेर अन्यत्र सर्न मृतक शान्ति थामीलाई भनेको तर उनले आफू थाकेर आएको भन्दै अन्यत्र जान नमानेको मङ्गले थामीले बताए। मृतक पत्नी शान्ती थामीको शवनजिक टोलाइरहेका मङ्गलेले भने मलाई पेट सञ्चो नभएकोले सौच गर्न गएको थिएँ, सौच गरेर १० मिनेटमा घर फर्कंदा घर परिवार सबै बगाएछ।

सोमबार बेलुकादेखिनै पेट ठीक नभएपछि आफू राति ११ः३० तिर सौच गर्न गएको र त्यतिबेला शान्तिले पनि घरबाहिर निस्किएर वरपर हेरेकी थिइन मङ्गलेले भने– त्यसपछि हामी दुबै घरभित्र गएर सुत्यौ। पहिलोपटक सौच गरेर फर्किएको १५⁄२० मिनेटमा आफूलाई फेरि सौच गर्न मन लागेर सौचालय गएको र फर्कंदा घरपरिवार सबै बगाएको मङ्गलेले बताए।

मङ्गले र मृतक लाटी थामीको घर तल माथि थियो। मृतक शान्तिको शव घरभन्दा झण्डै २ सय मिटर तल क्याथली खोलामा भेटिएको थियो भने लाटी थामीको शव उनको घर भएकै ठाँउमा पुरिएको अवस्थामा भेटिएको थियो। मृतक लाटी थामीको कोही नभएकाले उनी घरमा एक्लै बस्दै आएको स्थानीय रमेश केसीले बताए। पहिरो गएको थाहा पाएपछि आफू सोमबार राति करिब १ः३० बजे नै घट्ना भएको ठाउँमा पुगेर बेपत्ताको खोजीमा लागेको केसीले बताए।

अविरल वर्षाका कारण लाकुरीडाँडाको कुतुदे, गोगने, डाँडागाउँ, लामपाते र आहालडाँडाका करिब ९५ घर जोखिममा रहेको र कुतुदेको करिबकरिब १५ घर तत्काल अन्यत्र सर्नुपर्ने भएको स्थानीय गजेन्द्रबहादुर श्रेष्ठले बताए। घट्ना स्थल पुगेर फर्किएका भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहतका लागि खाद्यान्न सामाग्री दिइएको र विस्थापित परिवारलाई तत्कालका लागि सुर्के मावि भण्डारेमा राखिएको बताए। मृतकको परिवरलाई राहत र पहिरोबाट प्रभावित घर परिवारलाई कता सार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको नगर प्रमुख केसीले बताए।

प्रतिक्रिया दिनुहोस्