मतदानमा यस्तो पनि….



दोस्रो चरणको स्थानीय तह निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रहरूमा केही अनौठा घटनामेत भएका छन्। प्रस्तुत छ, विवरणः

जसले बम समातेर
जनतालाई जोगाए

नरेन्द्र केसी, घोराही, दाङ
दाङको एक मतदान केन्द्रमा प्रहरी हवल्दारले ज्यानको जोखिम मोलेर बम विस्फोट हुनबाट जोगाएका छन्।

तुलसीपुर–३ स्थित मावि अम्बास मतदान केन्द्रलाई लक्षित गरी अज्ञात व्यक्तिले प्रहार गरेको बम प्रहरी हवल्दार दुर्गाबहादुर राणाले समाएर तत्काल केन्द्रबाहिर फालेका थिए।

रानाले तुलसीपुर उपमहानगरपालिका वडा नं ३ अम्बासमा चुनावी अभियानको सुरक्षार्थ खटिएको बेला दिउँसोको समयमा एक जना युवकले बम आफूतिर फालेको देखेर त्यो आगो सल्किरहेको बमलाई केही सेकेन्डमै जंगलतिर फालेको बताए। उहाँको सम्मानमा स्थानीयबासीले अबिर जात्रा नै गरेका छन्। मतदान सकिएपछि रानालाई सम्मान गरिएको हो।

सल्यान शारदा नगरपालिका वडा नं १ छापडाँडामा जन्मिएका प्रहरी हवल्दार राणा एक हप्ताअगाडि मात्रै काठमाडौंबाट दाङ आएका हुन्। उनले भने– ‘मैले जीवनको कुनै पर्वाह गरिनँ, मलाई मेरो भन्दा जनताको सुरक्षामा चासो भयो।’ उनले आफ्नो जिम्मेवारी र मतपेटिकाको सुरक्षा गर्नु प्रमुख कर्तव्य भएको ठानेर बम मतदान केन्द्रमा खस्न नदिएको बताउनुभयो।

बुधबार उनलाई गृहमन्त्री जनार्दन शर्माले टेलिफोन गरेर बधाई र धन्यवाद दिएका छन्। उनले नेपाल प्रहरीको साहसप्रति गर्व गर्दै हवल्दार राणालाई पुरस्कार दिने घोषणासमेत गरेका छन्। रानालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पनि फोन गरेर बधाई दिएका छन्। उनले नेपाल प्रहरीभित्र सक्षम र साहसीहरूको उदाहरण राणा भएको भन्दै खुसी व्यक्त गरेको प्रहरीले जनाएको छ।

मतदान गर्न लाग्दा मृत्यु
दमक, (नेस)
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा बुधबार बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि जानुभएको थियो।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जाने क्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे उहाँको बाटोमै मृत्यु भएको हो। मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ।

१ सय चार वर्षीयद्वारा मतदान
दमक, (नेस)
झापाको कमल गाउँपालिका–५ स्थित मतदान केन्द्रमा १ सय ४ वर्षीय वृद्धले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ।

कमल गाउँपालिका–५ स्थित मंगलमय माविको मतदान केन्द्रबाट स्थानीयबासी १ सय ४ वर्षीय वृद्ध रणबहादुर कार्कीले मतदान गर्नुभएको हो। उहाँ कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुनुहुन्छ।

मतपत्र जले
रोल्पा, (नेस)
जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाई बुधबार मतपत्र जलाएका छन्।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा १ सय ५० वटा मत खसिसकेको थियो। मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा निकायले जनाएका छन्। उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया स्थगन गरिएको छ।

लाइनमै मृत्यु
पाल्पा, (नेस)
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा बुधबार निधन भएको छ।

दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो।

प्रमको सुरक्षामा खटिएका आफैं असुरक्षित
धनगढी, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा बुधबार दुर्घटनामा परेको छ। से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताए। प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लाग्दा सुरक्षा टोली खटिएको हो।

 

प्रतिक्रिया दिनुहोस्