७०.५ प्रतिशत मतदान



गुल्मीको एक मतदान केन्द्रमा मतदानको पर्खाइमा रहेका महिलाहरू तस्वीरः धनवीर दाहाल (रुकुम)

 

सुनील महर्जन, काठमाडौंन वटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको पाइएको छ।

दोस्रो चरणको निर्वाचनमा कुल मतदाता ६४ लाख ३२ हजार ७ सय ६५ रहेका छन्। त्यसमध्ये प्रदेश नम्बर १ मा २६ लाख ७४ हजार ५ सय ६३, प्रदेश नम्बर ५ मा २४ लाख ५४ हजार ४ सय ४८ र प्रदेश नम्बर ७ मा १३ लाख ३७ हजार १४ जना मतदाताहरू रहेका छन्। आयोगले सो प्रतिशत बढ्न सक्ने जनाएको छ। पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो।

निर्वाचन आयोगलाई प्राप्त प्रारम्भिक विवरणअनुसार सो मत खसेको आयोगले जनाएको छ। मतदान कार्य सम्पन्न भएलगतै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय लगिएको थियो। निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्याइएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी बुधबार रातिबाट मतगणना गर्न शुरू गर्ने आयोगले जनाएको छ।
दोस्रो चरणको निर्वाचनमा पहिलो पटकजस्तो मतगणना कार्य सुस्त नबनाउनका लागि जनशक्ति व्यवस्थापन, भौतिक सुविधा र सुरक्षाको अवस्थालाई हेरेर मतगणना डेस्क राख्न निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार भेटघाटमा जानकारी गराउनुभयो।

रुकुममा मतदानका लागि लामबद्ध मतदाता अनिल खत्री (गुल्मी)
ताप्लेजुङमा मतदान सम्पन्न भएपछि मतपेटिका गणनास्थलतर्फ लगिँदै । रवीन भट्टराई (ताप्लेजुङ)

पहिलो चरणमा झै यसपटक पनि मतगणना कार्य सुस्त हुन नदिन केकस्तो व्यवस्थापन गरिएको छ भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो– ‘एक साताभित्र मतपरिणाम आउने गरी मतगणना गर्न निर्देशन दिएको छु। यसपटक मतगणना कार्य चाँडै हुनेमा विश्वस्त छु।’

बुधबार भएको स्थानीय तहको निर्वाचनमा एकाध छिटपुट घटनाबाहेक र नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लवको वहिष्कार तथा राजपाको आन्दोलनका बीच शान्तिपूर्ण र बृहत् जनसहभागिताका साथ सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार भेटघाटमा जानकारी दिनुभयो।

वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’ र ‘ख’ मा विवाद भएको थियो। विवाद भएपछि मतदान कार्य स्थगित भएको थियो।

त्यसै गरी सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडानम्बर ७ मा पर्ने तिङला मतदान केन्द्रका स्थानीयले मतदान गरेनन्। २ हजार ४ सय ७६ मतदाता रहेको सो मतदान केन्द्रमा दुईवटा मत खसेको थियो। निर्वाचनका कर्मचारी रित्तो मतपेटिका लिएर दिनभर बसेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो।

स्थानीय तह पुनर्संरचनाका क्रममा सीमांकनबाट असन्तुष्ट साविक तिङलाबासी चुनावमा सहभागी नभएर विरोध कायमै राखेको बुझिएको छ। स्थानीय तह पुनर्संरचनाको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ का जनता मावि भुजहवा केन्द्रमा दुई जनाले बाहेक अरु मतदाताले मतदान गरेनन्।

सो मतदान केन्द्रमा ५ सय १ जना मतदाता रहेकामा ४ सय ४१ जनाले मतदाता परिचयपत्र लगेका थिए। सो केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नम्बर २ लाई मात्रै अलग्याएर सरावल गाउँपालिकामा राखेका कारण मतदान बहिष्कार गरेको बुझिएको छ।

शून्य मतदान कार्यलाई आयोगले वैधानिकता दिएको छ। ‘निर्वाचन आयोगका कर्मचारीहरू दिनभर बसे पनि मतदाताहरू मत खसाल्न आएनन्। यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न भएको अर्थमा लिएका छौं।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो। बिहान वर्षाका कारण केही मतदान केन्द्रमा मतदान कार्य ढिलो शुरू भए पनि सबै मतदान केन्द्रहरूमा मतदाताको उत्साहपूर्ण सहभागितामा रहेको आयोगले जनाएको छ।

सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ। सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ। मतदानका लागि हिजो बिहान ७ बज्नुभन्दा अगाडिदेखि नै मतदान केन्द्रहरूको अगाडि मतदाताहरू पङ्क्तिबद्ध भई उत्सुकतापूर्ण सहभागिता जनाएका थिए।

निर्वाचनका लागि ४ हजार ८ सय ६१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ।
मतदान केन्द्रहरूमा मतदाताहरू बिहान ७ बज्नुअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर बसेका थिए। मतदानमा युवापुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दीर्घरोगी र दृष्टिविहीनहरू पनि उत्सुकतापूर्वक सहभागी भएको पाइयो। सुरक्षा व्यवस्था प्रभावकारी रहयो। निर्वाचन शिक्षा प्रभावकारी नहुनुका बाबजुद शहरी तथा ग्रामीण क्षेत्रमा राजनीतिक दलसंगै स्वतन्त्र उम्मेदवारहरू कतैकतैबाट मतदाताहरूलाई मतदान गर्न प्रेरित गरेको देखियो।

यस पटकको मतपत्रको आकार निकै ठूलो भएकोले क्रस भोटिङ र मतदान गर्ने प्रक्रिया जटिल, ज्येष्ठ नागरिक मात्र नभइ पढेलेखेका शिक्षितहरू पनि अलमल भएको निर्वाचन पर्यवेक्षकहरू बताउँछन्। भोट हाल्न मतदाताहरूले कम्तीमा १ मिनेट देखि ३ मिनेटसम्म लगाएका थिए। मतपत्रमा गाउँपालिका नगरपालिका प्रमुख र उपप्रमुखसंगै सातौ कोठामा स्वस्तिक चिन्ह लगाइ वा खोजेर चिन्ह लगाउन समय अलि लागेको निर्वाचनमा खटिएका पर्यवेक्षकहरूको भनाइ रहेको छ।

निर्वाचनबाट ३ सय ३४ स्थानीय तहमा नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष ३ सय ३४ जना र सोही संख्यामा उपाध्यक्ष र उपप्रमुख र २ हजार ८ सय ७४ वडामा सोही संख्यामा वडाध्यक्ष र वडा सदस्य, महिला र दलित महिला सदस्य गरी ११ हजार ४ सय ९६ वडा सदस्य गरी कूल १५ हजार ३८ प्रतिनिधि निर्वार्चित हुनेछन्। त्यसका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्