छिमेकीसँग सन्तुलित सम्बन्धको खाँचो



दीर्घराज प्रसाईं

छिमेकी फेर्न सकिँदैन। छिमेकी राष्ट्रमा सरकार परिवर्तन हुनसक्छ तर भूभाग सार्न सकिँदैन। त्यसैले नेपालले चीन तथा भारतजस्ता नजिकका छिमेकीहरुसँग सधैँ सुमधुर तथा सन्तुलित सम्बन्ध कायम राख्न सक्नुपर्छ। नेपालको लागि भौगोलिक, सांस्कृतिक र आदानप्रदानको हिसाबले भारत धेरै नजिकको छिमेकी राष्ट्र हो।

हिमवतखण्ड र भारतखण्ड विश्वसभ्यताका मूल हुन्। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मानसरोवर तथा हिमालय र दक्षिण गंगासम्मको भूभागलाई हिमवतखण्ड भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ। यी दुई भूखण्डमा हिन्दु, बौद्ध, किरात, जैन, शिख आदि ॐकार परिवारको जन्म भएको हो। प्राचीन समयमा हिमवतखण्ड–नेपाल अहिलेको भन्दा धेरै ठूलो थियो। समयकाल परिस्थितिले हिमवतखण्ड विभिन्न टुक्रामा विभाजित हुन पुगेको थियो। चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा ‘कामरुप (आसाम) र कर्कपुर (कुमाउँ)को बीचको देशलाई ‘नेपाल’ भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा हिमवतखण्ड नेपाल भन्नाले आजको भन्दा ठूलो पूर्वमा ब्रह्मपुत्र,पश्चिममा हिन्दुकुश, उत्तर हिमालय र गंगासम्मकै प्रभावशाली हिन्दुस्थल थियो भन्ने कुरा थाहा हुन्छ। हिमवतखण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो।

वशिष्ठ ऋषिले वशिष्ठ उपनिषद्मा हिमवतखण्डको ‘भारतवर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि’ भनेको कुरालाई हृदयंगम गर्दा यो क्षेत्र कति महान् छ भन्ने कुरा बुझिन्छ। पृथ्वीनारायण शाह तथा उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झन्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकता जीवन्त रहेको हो। विशाल नेपालको एकीकरण हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्र थुपै्र स–साना राज्यहरुमा विभाजित थियो। यस क्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो। नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा व्यापक भइसकेकाले र सबै राज्यका जनता प्रायः हिन्दु भएकाले राष्ट्रिय एकीकरणमा सजिलो भएको थियो। नेपालको एकीकरणपछि सबै नेपालीको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाको रुपमा स्वतः रुपान्तरण हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गएको सबै जाति र समूहले आत्मसात् गरेका थिए। नेपालको एकीकरण हुनुभन्दा अगाडि भारतखण्डमा मुसलमान र अंग्रेजी साम्राज्यको लगभग हजार वर्षसम्म कब्जा जमाएको कारणले भारतीय सभ्यता र हिन्दुधर्म तहसनहस हुने अवस्थामा थियो।

अब हिजोको जस्तो नेपाल–भारतको सम्बन्ध चिसो नरहला। नेपाल–भारत तथा नेपाल–चीनबीच सुमधुर सम्बन्ध र चिरस्थायी मित्रता कायम गर्न यी छिमेकी मुलुकले पनि नयाँ नेपाल नीति अवलम्बन गरुन्। नेपालले पनि दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सक्नुपर्छ। यसबाट तीनै मुलुक लाभान्वित हुनेछन्।

गोर्खाका राजा पृथ्वीनारायण शाहले वि.सं. १७९९ चैत्र २५ गते रामनवमीमा राज्यारोहणपछि तीर्थको लागि वि.सं. १८०० मा बनारसमा विश्वनाथको दर्शन गर्न गएको अवस्थामा मुसलमान शासक औरङ्गजेवले विश्वनाथको मन्दिर भत्काएको र जीर्णोद्धार नभएको अवस्था थियो। त्यसले पृथ्वीनारायण शाह अत्यन्त दुःखी भए। त्यस बेला भारतमा इसाईहरुले हिन्दु मन्दिर भत्काउने, हिन्दुहरुलाई धर्म परिवर्तन गराउने, धर्म परिवर्तन गर्न नमान्ने कट्टर हिन्दुहरुलाई मार्नेजस्ता अनेकौं दुःखदायी अवस्था देखेर पृथ्वीनारायण शाहलाई गोर्खालगायत हिमवतखण्डका थुप्रै हिन्दु राज्यहरुको अस्तित्व जोगाउने प्रेरणा जाग्न पुग्यो। बनारसको भ्रमणको बेला काशी नरेश बलवन्त सिंह पनि इसाईहरुको अत्याचारबाट पीडित भइरहेको अवस्थामा काशी नरेशले पृथ्वीनारायण शाह भेट्दा अत्यन्त खुशी भई पृथ्वीनारायण शाहको सत्कार गरी हिमवतखण्डका हिन्दु राज्यहरुको अस्तित्व जोगाउन सल्लाहसमेत दिएका थिए। भारतमा हिन्दुहरुको दुःखदायी अवस्था देखेर पृथ्वीनारायण शाहलाई गोर्खालगायत हिमवतखण्डका हिन्दु राज्यहरु जोगाउने उत्पे्ररणा जाग्यो। त्यसैले बनारसबाटै केही मुसलमान योद्धा र हतियार बनाउने मुसलमान कालिगढहरु लिएर उनी गोर्खा फर्किई हिमवतखण्डका हिन्दु राज्यहरुको एकीकरण गर्न शुरु गरे। वि.सं. १८०१ देखि साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी नेपालको एकीकरणमा लागेको हुँदा आज हामी नेपालीहरु विश्वमा शिर ठड्याएर हिँड्न पाएका छौं। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हिमवतखण्डलाई एकीकृत गर्ने सन्दर्भमा काठमाडौं उपत्यकालाई चन्द्रागिरिबाट हेरेर ‘यो असल हिन्दुस्थान हो’ भनेका थिए। चन्द्रागिरिबाट दृश्यावलोकन गरेको प्रभावले नेपाल एकीकृत भएपछि गोर्खाका राजाले गोर्खा अधिराज्य नभनेर सगौरव यस भूभागलाई नेपाल अधिराज्य भनेर पुकारेका थिए।

साम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाह, बहादुर शाहलगायत नेपालका विभिन्न जातिका सपुतहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षेत्रीयतालाई सन्तुलित राख्न र अनेकतामा एकताको नीति कायम गरेर विशाल नेपालको सिर्जना हुन सकेको हो। त्यस बेला विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा–टुक्रामा विभाजित थिए। नेपालको एकीकरण भएको एक सय वर्षपछि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए। नेपालको एकीकरण हुनुभन्दा सय वर्षपछाडि इटाली पनि स–साना राज्यमा विभाजित थियो, जुन कबुर र ग्यालिभर्दीजस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो। त्यस्तै नेपालको एकीकरण भएको सय वर्षपछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेस्टुरेसनपछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखा पर्यो। नेपालको एकीकरण हुनुभन्दा दुई दशकभन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रको रुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियो। त्यो समयभन्दा पहिले पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झन्डा फहराएर अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा हिमवतखण्ड नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरुलाई एकीकरण गरेर नेपाल विश्वको एकमात्र हिन्दुअधिराज्य बनेको हो।

हिमवत्खण्ड नेपालको मौलिकता र महिमा अपरम्पार छ। यस अर्थमा हामी नेपाली भाग्यमानी छौं कि सार्वभौम नेपाल कहिल्यै पनि विदेशीहरुबाट लुटिएन, बिटुलो भएन। नेपालप्रति चीनले अहस्तक्षेपको नीति अपनाउँदै आएको छ। नेपालले चीनबाट कुनै खतरा देखेको छैन। चीन यस्तो मित्र राष्ट्र हो, जो सधैँ नेपालको आन्तरिक मामिलामा कसैबाट हस्तक्षेप नहोस् भन्ने चाहन्छ। कतैबाट हस्तक्षेप हुने आशंका देखेमा चीनले नेपालको पक्षमा खुलेर बोल्दै आएको छ।

अहिलेको संसारमा चीन एक समृद्ध राष्ट्रको रुपमा उभिएको छ। चीनले नेपालको विकासको लागि अनेकौं सहयोग परिपूर्ति गर्न चाहेको छ। त्यो मध्ये ‘एक बेल्ट एक रोड’ निर्माण गरेर चीनकै सम्पूर्ण खर्चमा केरुङ हुँदै पोखरा, लुम्बिनीसम्म रेलमार्ग पुर्याउन नेपालसँग सम्झौता पनि भइसकेको हुँदा बाटो निर्माणमा चीन अगाडि देखा परेको छ। तर अहिले नेपाल संकटग्रस्त अवस्थामा छ। विदेशीहरुको इशारामा चलेको छ। २०६३ सालपछि नेपालमा राजसंस्था र नेपालको पहिचान अनि सुरक्षा अवधारणाको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य हटाएर धर्मनिरपेक्ष, गणतन्त्र लाद्न खोजिएका बेलादेखि नेपाल संरक्षणविहीन अवस्थामा छ। यस्तो बेलामा चीनबाट ‘एक बेल्ट एक रोड’ चीनकै खर्चमा सम्पन्न हुँदाको अवस्थामा नेपालको सार्वभौमसत्ताको लागि अत्यन्त खतरा हुनेछ। चीनको नेपालको स्वाभिमानमाथि दखल गर्ने नियत नभए तापनि बितेको १० वर्षदेखि सत्तासीनहरु राष्ट्रको देशको सार्वभौमसत्ता, एकता कायम गर्ने, देशको पहिचानहरु बचाउन नचाहने भएकाले नेपाल संरक्षणविहीन भएको अवस्थामा नेपाली जनताको मनस्थिति चीनप्रति बफादार हुन जान्छ। तर नेपालमा राजसंस्था र हिन्दु अधिराज्य कायम रहेको अवस्थामा ‘एक बेल्ट एक रोड’ को निर्माण नेपालको लागि ठूलो उपलब्धि र देनको रुपमा मानिन्छ। नेपालमा स्थायी संरक्षकको रुपमा राजसंस्था रहेपछि भारत, अमेरिकालगायत विश्वसमुदाय तथा चीनको सौहार्दता नेपालप्रति कायम रहिरहनेछ। त्यस बेला नेपालको सार्वभौमसत्तामा कुनै खतरा आउनेछैन। तर राजसंस्था र हिन्दु अधिराज्य नरहेको अवस्थामा चीनको ‘एक बेल्ट एक रोड’को नीति नेपालको लागि अफापसिद्ध हुनेछ।

चीनको दाँजोमा भारतसँग नेपालको समय–समयमा विवादहरु उठेका छन्। भारत स्वतन्त्र भएपछि नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन अनेकौं दाउपेच गरिरह्यो। जवाहरलाल नेहरु र नेहरुपछि इन्दिरा गान्धी, उनीपछि उनका छोरा राजीव गान्धी र राजीव गान्धीकी श्रीमती सोनिया गान्धीको चासोमा भारतीय प्रशासकीय संयन्त्र र उसको गुप्तचर संस्थाबाट नेपालकै पार्टीका गद्दार नेताहरुलाई हातमा लिएर यो हिन्दु र बौद्धस्थलको अस्तित्व समाप्त गर्न साहै्र सताउने काम भएको थियो।

२०६२ सालमा यहाँका माओवादी, कांग्रेस, एमालेका नेताहरुलाई हातमा लिएर, १२ बुँदे सहमति गराएर, जनआन्दोलन गराई नेपालको विरुद्ध घातक व्यवहार गरेको थियो। त्यस बेला भारतको नीति नेपालको अस्तित्व समाप्त गर्ने नै थियो। तर अब भारतमा कांग्रेस (आई)को सत्ता समाप्त भएर नेपालको मित्रशक्तिको रुपमा चिनिएको हिन्दुवादी राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ। भाजपाको सरकारको नेतृत्व हिन्दु राष्ट्रवादी नरेन्द्र मोदीले गरेका छन्। अब हिजोको जस्तो नेपाल–भारतको सम्बन्ध चिसो नरहला। नेपाल–भारत तथा नेपाल–चीनबीच सुमधुर सम्बन्ध र चिरस्थायी मित्रता कायम गर्न यी छिमेकी मुलुकले पनि नयाँ नेपाल नीति अवलम्बन गरुन्। नेपालले पनि दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सक्नुपर्छ। यसबाट तीनै मुलुक लाभान्वित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्