सर्वोच्च अदालतमा हेलिकोप्टरबाट ग्रेनेड प्रहार



 

काराकास, (एजेन्सी)
भेनेजुयलाको सर्वोच्च अदालतमा हेलिकोप्टरबाट ग्रेनेड प्रहार गरिएको छ। राष्ट्रपति निकोलस माडुरोले यस घटनालाई ‘आतंककारी आक्रमण’को संज्ञा दिएका छन्। सामाजिक संजालमा देखिएका फुटेजमा गोली प्रहार र एउटा ठूलो विस्फोटको आवाज सुनिनुअघि शहरको आकाशमा एउटा प्रहरी हेलिकोप्टर उडेको देखिन्छ।

एकजना प्रहरी अधिकारीले उक्त चोरिएको हेलिकोप्टर उडाएको र उनले अपराधी सरकारको भत्र्सना गर्दै एक विज्ञप्ति निकालेको जनाइएको छ। अहिलेसम्म उनको स्थिति अज्ञात रहेको छ। राष्ट्रको राजनीतिक र आर्थिक समस्याविरुद्ध आम प्रदर्शनपछि यो आक्रमणको घटना घटेको हो।

भेनेजुयलाको विपक्षी राजनीतिक समूहले सर्वोच्च अदालतको हस्तक्षेपका कारण राष्ट्रपति माडुरो सत्तामा टिकिरहेको भन्दै बारम्बार त्यसको विरोध गर्दै आएको छ। राष्ट्रपति भवनबाट जारी गरिएको एक विज्ञप्तिमा हेलिकोप्टर सर्वोच्च अदालतलगायत न्याय तथा गृह मन्त्रालयमाथि पनि उडेको जनाइएको छ।
सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले सर्वोच्च अदालतमाथि चारवटा ग्रिनेड खसालिएको र गृह मन्त्रालयमाथि १५ वटा गोली प्रहार गरिएको जनाएको छ। यस घटनामा कसैलाई चोटपटक नलागेको बताइएको छ।

तर माडुरोले सर्वोच्च अदालत परिसरमा एउटा सामाजिक कार्यक्रम भइरहेको र यस आक्रमणको कारण दर्जर्नौं व्यक्तिको ज्यान जान सक्ने तथा एउटा ग्रेनेड विस्फोट हुन नसकेको बताएका छन्। माडुरोले सेनालाई सतर्क हालतमा राखेको छ।

उनले देशमा शान्ति स्थापनाका लागि आफूले सम्पूर्ण सशस्त्र फौजलाई सक्रिय पारेको पनि बताएका छन्। उनले ढिलो चाँडो हेलिकोप्टर र यो आतंककारी कार्य गर्ने व्यक्तिलाई नियन्त्रण लिइने बताएका छन्।

सामाजिक संजालको प्लेटफर्म इस्टाग्राममा भिडियो पोस्ट गर्दै उक्त हेलिकोप्टर चलाउने ती प्रहरीले आफ्नो नाम ओस्कार पेरेज बताएका छन्। मकुन्डो लगाएका निकै थकित जस्तो लाग्ने तथा टन्नै हतियार बोकेका तिनले भेनेजुयलाली जनतालाई सरकारको विरोध गर्न आह्वान गरेका छन्।

गत १ अप्रिल १ यता सरकारविरुद्धको प्रदर्शनको क्रममा ७० जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्