बल्ल शुरु भयो राजपाको टाउको दुखाई, चुनाव बहिस्कार गर्ने पार्टीको अपील जनताले नमानेपछि मधेशी नेता आत्तिए



नेपाल समाचारपत्र, काठमाडौं । चुनाव विथोल्ने निणर्य गरेर आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टीलाई चुनावमा नगएकोमा टाउको दुखाई हुन शुरु भएको छ । राजपाका दुई शीर्ष नेताले पार्टीको अपील मधेसी जनताले खारेज गरेको मिडीयामा अभिब्यक्ति दिएका छन ।

राजपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र महामन्त्री तथा प्रमुख सचेतक बृजेश गुप्ताले जनताको मतदानको इच्छा रोक्न नसकिएको संचार माध्यम सँगको कुराकानीमा स्विकारेका छन ।

भैरहवामा रहेका शुक्लले आफ्नो क्षेत्रका सबै मतदान केन्द्रको निरीक्षण गरेपछि जनताले उत्साहपूर्वक मतदानमा भाग लिएको बताएका हुन । ‘मैले चाहिँ पार्टीको आदेश मानेर मतदान गरिनँ तर, मेरा कार्यकर्ता र जनतालाई शुभेच्छा दिएर फर्किएँ’ उनले भनेका छन ।

शुक्लको मतदान केन्द्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ बिजगारी निमावी फरेनामा पर्छ । उनी विहानै आफ्नो मतदान केन्द्रमा पुगे पनि भोट भने हालेनन् । त्यहाँबाट गाउँपालिका अध्यक्षमा राजपाका दुलारे हरिजन स्वतन्त्र उम्मेदवार भएका छन ।

शुक्लले हरिजनलाई आफ्नो शुभकामना रहेको भन्दै उनको जितका लागि हरसम्भव प्रयत्न गरेको पनि बताएका छन । ‘कम्तिमा अर्को पार्टीमा गएनन्, राजपामै रहेर स्वतन्त्र उम्मेदवार बनेका हुनाले आन्दोलनकै रुपमा मतदान गरेर आन्दोलनकारीलाई जिताउन मैले मेरा मतदातालाई अपिल गरेको छु’ उम्मेदवारलाइृ शुभकामना दिएका उनले भने ।

शुक्लले मतदान बहिस्कार गर्ने राजपाको अपील जनताले खारेज गरेको पनि स्वीकारेका छन् । उनले मत परिणाम स्वतन्त्र उम्मेदवारको पक्षमा आयो भने त्यसलाई आन्दोलनप्रति मधेसी जनताको समर्थनका रुपमा बुझ्नुपर्ने समेत बताएका हुन । ‘अहिले हाम्रो अपिल त खारेज नै भयो तर, मत परिणाम हेरौं, मैले जनतालाई मधेस आन्दोलन बिरोधीलाई भोट नदिनुस् भनेर अपिल गरेको छु’ शुक्लले भनेका छन ।

शुक्ल मर्चवार, सम्मरीमाई, बुद्ध सांस्कृतिक नगरपालिकासहित सिद्धार्थनगर नगरपालिकाका पनि बिभिन्न मतदान केन्द्रमा घुमेका थिए । उनी राजपाभित्र चुनाव बहिस्कार गर्नु हुदैन भन्ने पक्षका एक नेता पनि हुन् ।

भोलि आन्दोलन गर्नका लागि पनि संगठन चाहिने भएकाले कार्यकर्ताको चुनाव लड्ने चाहना रोक्न नचाहेको उनले स्वीकार गरेका छन । सम्मरीमाई मर्चवार लगायतका क्षेत्रमा शुक्लले हरेक चुनावमा ७५ प्रतिशत मत ल्याउने गरेका थिए ।

मतदान नगरी फर्किनुपर्दा आफूलाई पीडा भएको समेत उनले बतएका छन । तर, पार्टीको कार्यकर्ता भएपछि पार्टी निर्णय मान्नुपर्छ भन्दै उनले पीडा लुकाउने प्रयास गरेपनि छताछुल्ल भएको थियो । म सबै मतदान केन्द्रमा पुगेर हेरेँ । बृद्धबृद्धालाई गाडीबाट लैजान पनि सहयोग गरेँ । प्रहरीले अवरोध गरेको थियो, मैले आग्रह गरेर मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सहजीकरण गरेको छु’ उनले भने ।

गुप्तालाई साह्रै पीडा

कपिलबस्तुको तौलिहवामा रहेका राजपाका महामन्त्री बृजेश गुप्ताले पनि चुनाव बहिस्कार गर्ने पार्टीको निर्णय जनता र कार्यकर्ताले खारेज गरेको बताएका छन । पार्टी निर्णय अनुसार आफूले मतदान नगरेपनि स्वतन्त्र उठेका आफ्ना कार्यकर्तालाई साथ सहयोग दिएको बताए ।

म के भनुँ, बहुत पीडा सहेर घरमा बसेको छु । मलाई चुनाव जिताउन सधैं साथ दिने साथीहरु स्वतन्त्र उम्मेदवार बनेका छन् । उनीहरुलाई बिजयको शुभकामना दिएको छु’ उनले भनेका छन ।

राजपाको मुख्य प्रभाव रहेका कपिलबस्तु र रुपन्देहीका स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । तर, नवलपरासीको प्रतापुर गाउँपालिकामा भने मतदान निकै कम भएको छ ।

राजपा नेता हृदयेश त्रिपाठीको गृहक्षेत्र भएकाले त्यहाँ राजपा कार्यकर्ताले विहानैदेखि घर–घरमा गएर भोट हाल्न नजान चेतावनी दिएका छन् । त्रिपाठी चुनावमा भाग लिनु हुदैन भन्ने पक्षका नेता हुन् । उनी गत संवधानसभा चुनावमा नवलपरासीको यहि ६ नम्बर क्षेत्रबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्