प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान



डडेल्धुरा, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उहाँले स्थानीय बासिन्दासँग कुरा गर्नुहुँदै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताउनुभयो । “निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भन्नुभयो ।

प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गर्नुभएको हो । उहाँकै पहलमा पछि यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा अहिले कैलालीको धनगढी फर्कंदै हुनुहुन्छ । उहाँ बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्