मोदीको अमेरिका भ्रमण, मोदी र ट्रम्पको अभिवादन शैली चर्चामा



 

वासिङ्टन, (एजेन्सी)
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि पहिलो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन्। दुई नेताहरुबीचको भेटघाटको शैलीलाई लिएर केही सञ्चारमाध्यमहरुले विशेष चर्चा गरेका छन्। भारतका प्रधानमन्त्री मोदी अन्य देशका नेताहरुसँग अँगालो हालेर अभिवादन गर्ने नेताका रुपमा चर्चित छन्।
तर ट्रम्पका बारेमा उनी हात मिलाउँदा ‘पावर प्ले’ अर्थात् मुठ्ठी कस्सिलो गरी समाउने तरिका चर्चित छ। ट्रम्प आफ्नो अगाडिका व्यक्तिसँग हात मिलाउँदा शुरुमा कडा रुपमा समाउने गर्छन् र फेरि उसलाई आफ्नो तर्फ तान्ने गर्छन्। यो विशेष शैलीलाई ‘यांकशेक’ पनि भन्ने गरिन्छ।

बडी ल्यांग्वेज विज्ञहरुको रायमा यसलाई राजनीतिक शक्ति प्रदर्शनका रुपमा लिइएको छ। सोमबार जब ती दुई नेताबीच भेटघाट हुँदा सबैको ध्यान यसै विषयमा केन्द्रित रहेको थियो। उनीहरु अँगालो हाल्छन् वा हात मिलाउँछन्।
प्रधानमन्त्री मोदीको शैली विश्व नेताहरुसँग निकटता देखाउने अभिप्रायसँग सम्बन्धित हो। जब उनीहरु भेट्छन्, पहिला हात मिलाउँछन् र त्यसको लगत्तै अँगालो हाल्छन्।

उनीसँग अँगालोमा अभिवादन गर्नेहरुको अनुहारमा कहिले काहीँ अप्ठइरोपना झल्केको देखिन्छ। संयुक्त पत्रकार सम्मेलनको अन्तमा ट्रम्पले मोदीतर्फ हात बढाएका थिए तर मोदीले त्यसलाई बेवास्ता गरी सीधै उनीसँग अँगालो हाली गला मिलाउन पुगे। सम्भवतः ट्रम्प त्यसका लागि तयार थिएनन्। त्यसैले केही क्षणका लागि उनी असमन्जसमा परेको देखिए।

मोदीलाई अगाडि बढ्न इसारा गर्दै संयुक्त पत्रकार सम्मेलनबाट जाने क्रममा ट्रम्पले धेरैपटक मोदीको पिठमा हातले थपथपाएको देखिए।

दुवैको संविधान ‘वी द पिपल’बाट शुरू
ट्रम्पसँगको भेटघाटमा मोदीले वार्ता अत्यन्त महत्त्वपूर्ण रहेको र दुवैको मूल्य, प्राथमिकता, चिन्ता र रुचिमा समानता रहेको बताए।

भारतको सामाजिक आर्थिक परिवर्तनका लागि मुख्य कार्यक्रममा भारतले अमेरिकालाई प्रमुख पार्टनर मानेको उनले बताए। मोदीले भने– ‘मलाई विश्वास छ, मेरो न्यु इन्डियाको भिजन र राष्ट्रपति ट्रम्पको मेक अमेरिका ग्रेटको भिजनले हाम्रो सहयोगमा नयाँ आयाम उत्पन्न गर्नेछ।’

‘आतंकवादसँग लड्नु र आतंकवादीहरुको सुरक्षित आश्रयस्थल नष्ट गर्नु हाम्रो सहभागिताको एक महत्त्वपूर्ण हिस्सा हुनेछ।’ –उनले थपे।

मोदीसँगको भेटवार्तापछि ट्रम्पले भने– ‘मैले सधैं भारत देश र भारतीयका लागि, उनीहरुको संस्कृति, धरोहर र पुर्खाका लागि मेरो मनमा आदर सम्मान रहेको भन्दै आएको छु।’

यसै वर्ष भारतले आफ्नो स्वतन्त्रता दिवसको ७०औं वार्षिकोत्सव मनाउन लागेको र यस अवसरमा अमेरिकाका तर्फबाट भारतीय नागरिकलाई आफूले बधाई दिन चाहेको ट्रम्पले बताए।

भारत र अमेरिकाको संविधान तीन सुन्दर शब्दबाट शुरू भएको धेरैलाई थाहा नभएको र ती शब्द ‘वी द पिपल’ भएको बताउँदै प्रधानमन्त्री मोदी र आफूले ती शब्दको महत्त्व राम्रोसँग बुझेको ट्रम्पले बताए।

 

प्रतिक्रिया दिनुहोस्