हेटौंडा बन्यो बालश्रममुक्त नगर



 

नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा उप–महानगरपालिकाका सबै वडा निकृष्ट बाल श्रममुक्त वडा घोषणा भएका छन्। सन् २००९ देखि उप–महानगरपालिकाले निकृष्ट बाल श्रममुक्त क्षेत्र घोषणा अभियान थालेको हो।

शुक्रबार हेटौंडा–१ नम्बर वडालाई निकृष्ट बाल श्रममुक्त घोषणासँगै हेटौंडा उप–महानगर देशका नगरमध्ये पहिलो निकृष्ट बाल श्रममुक्त घोषणा भएको हो। हेटौंडा उप–महानगरपालिका वडा नम्बर १ का वडास्तरीय निकृष्ट बाल श्रममुक्त अभियान समिति संयोजक शकुन्तला थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाका विभिन्न युवा क्लब, बाल क्लब, टोल विकास संस्थालगायतले चाइना क्वार्टरबाट र्याली निकाली ज्योति आधारभूत विद्यालयमा पुगी सभामा परिणत भएको थियो।

कार्यक्रममा हेटौंडा उप–महानगर उपमेयर मीना लामाको प्रमुख आतिथ्यता थियो। करिब ८ वर्षदेखि हेटौंडा उपमहानगरलाई निकृष्ट बाल श्रममुक्त क्षेत्र घोषणा गर्ने अभियानमा रहेको उप–महानगरले सन् २०१४ को जुन १२ मा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ११ बाट निकृष्ट बाल श्रममुक्त वडा घोषणा गर्न शुरू गरेको थियो।

उप–महानगरपालिकाका बालश्रममा परेका बालबालिकाहरूलाई पुनःस्थापना, शैक्षिक सहयोग र परिवारलाई आयमूलक क्रियाकलापका लागि बाल कल्याण समाज मकवानपुरले विभिन्न गैरसकारी संस्थाको समन्वयमा सहयोग गरिरहेको छ।

निकै लामो संघर्ष र मेहनतले उप–महानगरका सबै वडालाई निकृष्ट बाल श्रममुक्त घोषणा गर्न सफल भएको भन्दै बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख कमल फुयाल भन्नुहुन्छ– ‘निकृष्ट बाल श्रममुक्त घोषणा हुनु खुसीको कुरा हो। यो घोषणामात्र नभएर कार्यान्वयनको पक्षमा छ। घोषणापश्चात् आगामी आर्थिक वर्षमा प्रत्येक वडामा सचेतना तथा कार्यान्वयनको विषयमा काम गर्ने कार्ययोजना छ। उहाँले घोषणापश्चात् पनि बाल कल्याण समाजले निरन्तर निगरानी र सचेतना कार्यक्रम गर्ने बताउनुभएको छ। जिल्ला बाल कल्याण समिति मकवानपुरका अधिकृत रवि हमालले निकृष्ट बाल श्रममुक्त क्षेत्र घोषणापश्चात् सबै क्षेत्रका सरोकार पक्षहरू आ–आफ्नो क्षेत्रबाट लाग्ने हो भने निकृष्ट बाल श्रममुक्त क्षेत्र घोषणाले सार्थकता पाउने बताउनुभयो।

बालश्रम गराउने व्यक्ति वा संस्थालाई कुनै पनि राजनीतिक तथा अन्य सामाजिक कुराहरूले ढाकछोप नगर्ने हो भने धेरै बालश्रमिकले बाल अधिकार प्रयोग गर्न पाउने उहाँको भनाइ छ। हमाल गैरसरकारी संस्थामात्र नभएर सम्बन्धित निकायले विशेषरूपमा काम गर्ने हो भने बालश्रम अन्त्य हुन सम्भव रहेको बताउनुहुन्छ।
निकृष्ट बाल श्रममुक्त क्षेत्र घोषणा गर्न विभिन्न समयमा उप–महानगरपालिकामा अनुगमन हुने गरेको थियो। अनुगमनले निरन्तरता पाउने हेटौंडा उप–महानगरपालिकाले जनाएको छ। उप–महानगरपालिकालाई असार २० गतेअगाडि नै निकृष्ट बाल श्रममुक्त घोषणा गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्