मतदान केन्द्र पुग्नै ६ घण्टा, मत खसाल्न मतदान केन्द्र पुगेका मतदाता बेलुका घर फर्कन असम्भव



 

धनवीर दहाल, रुकुम
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाँउपालिका भौगोलिक हिसावले निकै दुर्गम गाउँपालिकामा पर्दछ। पुथा उत्तरगंगाको साथै भुमे र सिस्ने गाउँपालिका पनि उत्तिकै दुर्गममा पर्छन्। पुथा उत्तरगंगा गाउँपालिकाका केही बस्तीहरू यस्ता छन्।

जुन बस्तीबाट तोकिएको मतदान केन्द्रसम्म मात्र पुग्नलाई ६ घण्टा समय लाग्दछ। मतदाता मतदान गर्न मतदान केन्द्र पुगेर साँझ घर फर्कन अबेर भइसकेको हुन्छ। वृद्धवृद्धालाई झनै समस्या छ। पुथा उत्तरगंगा गाउँपालिकाको पेल्मामा रहेको मतदान केन्द्रमा साविकको रन्मामैकोट ५ बाट पुग्न झन्डै ६ घण्टा समय लाग्ने स्थानीय सरोज बुढाले बताउनुभयो। बुढाका अनुसार वृद्धवृद्धालाई झनै समस्या हुने गर्दछ। ‘मतदान केन्द्र पुग्नलाई बिहानै हिँड्नुपर्छ, ६ घण्टामा पुगेर लाइन लागी मतदान गरी घर फर्कन त कुनै पनि हालतमा सकिँदैन’, बुढाले भन्नुभयो– ‘मतदान गरेर एक दिनमा फर्कन असम्भव छ।’

पुथा उत्तरगंगामात्र होइन रुकुमको सिस्ने गगाउँपालिकाको ठूलो सिस्नेबाट मतदान केन्द्र पाखापानी पुग्न पनि ३ घण्टा लाग्ने गर्दछ। यसै गरी भुमे गाउँपालिकामा पनि त्यस्तै समस्या छ। भूगोलको हिसावले सबै गाउँपालिकाभन्दा ठूलो रहेका ती गाउँपालिकाका मतदातालाई यस पटक मतदान केन्द्र निकै टाढा भएको छ। गाउँपालिकाकै केन्द्रका लागि पटक–पटक आन्दोलनमा रहेका तकसेराबासी र छुट्टै स्थानीय तहको माग गरिरहेका मैकोटबासीले पनि कम्तीमा मतदान केन्द्र पायक पर्ने ठाउँमा राख्न अनुरोध पनि गरेका थिए।

दोस्रो चरणको निर्वाचनमा रुकुमका ३ वटा स्थानीय तहका ३१ मतदानस्थलमध्ये ९ वटा मतदानस्थल अति दुर्गममा छन्। दोस्रो चरणमा निर्वाचन हुने ३ स्थानीय तहमा २४ हजार ४ सय ८१ मतदाता रहेका छन्। जसमा सबैभन्दा बढी भुमेमा ८ हजार ५ सय ५५, सिस्नेमा ८ हजार ३ सय ६८ र पुथा उत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्