वातावरणमैत्री गाउँ बनाइँदै



 

मोतीराम तिमल्सिना, काभ्रे
वातावरणमैत्री गाउँ विकास अवधारणालाई सफल बनाउन ग्रामीण क्षेत्रहरूमा कार्बन उत्सर्जनलाई घटाउँदै विकास केन्द्रित गतिविधिहरूलाई अगाडि बढाउने उद्देश्यले सञ्चालन भएको जिल्लाका तीन वटा गाउँमा कार्बन न्यूनीकरण एवं विपन्न केन्द्रित दिगो वातावरणमैत्री गाउँ विकासका लागि सप्रमाण पैरवी कार्यक्रमको नमुना प्रस्तुत गरिएको छ।

जिल्लाको च्याम्ब्राङबेंसी, ढुंखर्कको लड्कु चनौटे र चलालको सिक्रे घ्या·मा उक्त कार्यक्रम ३ वर्षदेखि सञ्चालन गरिएको छ। च्याम्ब्राङबेंसीमा गहुँ बीउ बिजन उत्पादन, माछा पालन, तरकारी खेतीमा सहयोग तथा विभिन्न प्रकारका कार्यक्रमले वातावरणमैत्री गाउँ बनाउन सहयोग पुर्याइएको छ भने चनौटे र चलालमा पनि कृषि उपजमा सहयोग पुर्याएको छ। जलवायु परिवर्तनका नकरात्मक प्रभावहरूलाई घटाउन तथा जिविकोपार्जनका राम्रा अवसरहरू प्राप्त गर्न ग्रामीण समुदायहरूलाई सशक्तरूपमा सहयोग पुर्याएको उपभोक्ता तुलप्रसाद दाहालले बताए।

वातावरणमैत्री अभियानका लागि नमुना गाउँमा घरायशी गोबर ग्याँस प्लान्ट, सुधारिएको चुलो, शौर्य ऊर्जा प्रविधि, विद्युत् उत्पादनका लागि सुधारिएका पानी घट्ट, ग्रामीण क्षेत्रमा घरायशी, विद्युतीकरणका लागि पिको⁄माइक्रो–हाइड्रो एवं शौर्य शक्तिमा आधारित सुकाउने प्रविधिहरू छन्। ग्रामीण प्रविधि केन्द्रद्वारा सञ्चालित जिल्लास्तरीय छलफल तथा समीक्षा कार्यक्रममा केन्द्रका वरिष्ठ निर्देशक हरिगोपाल गोर्खालीले कार्बन न्यूनीकरण एवं विपन्न केन्द्रित दिगो वातावरणमा सहज हुने बताए। कार्यक्रममा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले वातावरणमैत्री गाउँ बनाउन शुरू गरिएको अभियान अत्यन्तै सकारात्मक, राम्रो र उपयुक्त भएको बताए।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले वातावरणमैत्री स्थानीय शासनका लागि भएका अभियानहरूलाई स्थानीय तहले सहयोग गर्ने र आगामी कार्यक्रमहरू वातावरणमैत्री हुने विश्वास दिलाए। कार्यक्रममा बेथाञ्चोक गाउँ पालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले वातावरणमैत्री र कार्बन न्यूनीकरणका लागि भएका प्रयासलाई अगामी दिनमा झनै बढोत्तरी गर्दै लैजाने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्गाप्रसाद पण्डित, ग्रामीण प्रविधि केन्द्रका उपनिर्देशक श्याम राई, कार्यक्रम अधिकृतद्वय शोभना महर्जन र सुवास लामिछाने, घट्टधनी संघका अध्यक्ष शिवशरण श्रेष्ठलगायतले वातावरणमैत्री गाउँका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा नमुना गाउँका उपभोक्ता रामहर तिमल्सिना, रूपा तामाङलगायतले नमुना वातावरणमैत्री गाउँ बनाउन भएका प्रयास र उपलब्धिका बारेमा बताएका थिए।

प्रतिक्रिया दिनुहोस्