सेनाको सक्रियतामा पदमार्ग मर्मत



 

चिरञ्जीवी मास्के
दोलखा
नेपाली सेनाको रणभीम गणले दोलखाको कालिञ्चोक गाँउपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक मन्दिर जाने पदमार्ग मर्मत तथा स्तरोन्नती गरेको छ।

भूकम्पपछि जोखिम भएको उक्त पदमार्ग मर्मत तथा स्तरोन्नति गरी कालिञ्चोक गाँउपालिकालाई हस्तान्तरण गरिएको रणभीम गणका गणपति झवेन्द्र रेस्मीमगरले बताए। कालिञ्चोक मन्दिर क्षेत्रमा भएको पदमार्ग हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको ९ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जीतबहादुर गुरुङले कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामी र उपप्रमुख कालिका पाठकलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

घ्याङडाँडाबाट कालिञ्चोक मन्दिरसम्म पुग्ने उक्त पदमार्ग भूकम्पले क्षति भएपछि धेरै पर्यटकहरू जोखिम मोलेर कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए भने कतिपय पर्यटक बीच बाटोबाटै फर्कन बाध्य हुने गरेका थिए। कालिञ्चोक मन्दिरको प्रस्थान विन्दु कुरीबाट ठाडो उकालो लाग्ने बाटो भन्दा घ्याङडाँडाबाट मन्दिर पुग्ने बाटो छोटो र सहज रहेको स्थानीय होटल व्यवसायीहरू बताउँछन्। उक्त बाटोको मर्मत तथा स्तरोन्नतिपछि कालिञ्चोक मन्दिर पुग्ने पर्यटकलाई निक्कै सहज भएको स्थानीय होटल व्यवसायी चन्द्र लामाले बताए।

पदमार्ग मर्मत तथा स्तरोन्नतिका लागि जिल्ला विकास समिति दोलखाले ५ लाख ५० हजार, दोलखाका उद्योगी व्यवसायीले ६० हजारबराबरको निर्माण सामग्री र रणभीम गणले ६५ हजारबराबरको निर्माण सामग्री खरिद तथा श्रमदान गरेको गणपति रेस्मी मगरले बताए।

रणभीम गणले घ्याङडाँडाबाट कालिञ्चोक मन्दिरसम्मको करिब २ किलोमीटर पदमार्गमा मेसीनरी वाल, फलामे भर्याङ, सिढी निर्माण गरेको रणभीम गणले जनाएको छ।

पदमार्ग हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली सेनाको ९ नम्बर बाहिनी अड्डाका बाहिनिपति सहायक रथी जीतबहादुर गुरुङले विकास निर्माणमा साझेदारी गर्ने नेपाली सेनाको लक्ष्यअनुसार रणभीम गणले धार्मिक पर्यटकीय स्थल कालिञ्चोकमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरेर प्रशंसनीय काम गरेको बताए। उनले नेपाली सेना सधैं विकास र समृद्धिको पक्षमा रहेको र नेपाली जनतासंग विकासमा साझेदारी गर्न तयार रहेकोसमेत बताए।

कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामीले स्थानीय जनप्रतिनिधिले विकास निर्माणमा नेपाली सेनालगायत सबै पक्षसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय विकास अधिकारी शङ्कर नेपाल र रणभीम गणका गणपति झवेन्द्र रेस्मीमगरले पनि विकासमा सबै पक्षको साझेदारी आवश्यक रहेने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्