पेट्रोल पम्पमा आगलागी



 

भक्तपुर, (नेस)
भक्तपुरको लोकन्थलीमा रहेको सिद्धार्थ फ्युल सेन्टरमा मंगलबार साँझ आगलागी भएको छ। बा ७ ख २७५० नम्बरको ट्यांकरबाट फ्युल भण्डारण गर्ने क्रममा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ।

आगोलागीलगत्तै सेन्टरमै भएको ४ वटा अग्नी नियन्त्रण यन्त्र र दमकलको सहायताले आगो केहीबेरमै नियन्त्रणमा आएकाले खासै क्षति हुन नपाएको प्रहरीको भनाइ छ। ट्यांकर र भण्डारण केन्द्रभित्र आगलागी नभएको र पेट्रोल खन्याउने पाइपमा मात्र आगलागी भएको महानगरीय प्रहरी बृत्तथिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो।

आगोलागीलगत्तै भण्डारण केन्द्रमा बिस्फोट हुने भयले स्थानीय त्रसित भएका थिए। आगो निभाउने र हेर्ने स्थानीयको भीडका कारण अरनीको राजमार्गअन्तर्गतको सो क्षेत्रको ट्राफिक व्यवस्थापनसमेत केही समय अस्तव्यस्त बनेको थियो।
पेट्रोल खन्याउने क्रममा कसैले छेउमै बसेर चुरोट पिएका कारण वा स्पार्क लिक भएर आगलागी भएको हुन सक्ने स्थानीयबासीले आशंका गरेका छन्। आगलागीबारे प्रारम्भिक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्