राजधानीमा स्वाइन फ्लुका बिरामी भेटिए



 

काठमाडौं, (नेस)
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना महिलामा स्वाइन फ्लु (एचवान एन वान भाइरस) देखा परेको छ। उपचारका लागि अस्पतालमा भर्ना भएकी कुलेश्वर निवासी ३८ वर्षीय महिलाको ल्याब परीक्षणका क्रममा स्वाइन फ्लु पुष्टि भएको हो।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बिरामीको रगत तथा खकार नमूना जाँच केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गर्दा संक्रमण पुष्टि भएको हो। उनको अहिले विशेष निगरानीमा उपचार भइरहेको डा. पुनले बताउनुभयो।
यसवर्षको गर्मी महिना शुरु भए यता पहिलोपटक स्वाइन फ्लु देखा परेको हो। यस रोगबाट जोखिम हुने समूहमा गर्भवती, ५ वर्षमुनिका बालबालिका, दम, खोकीको समस्या भएका, मधुमेह, एचआइभी एड्सजस्ता समस्या भएका व्यक्ति जोखिम समूहमा पर्ने भएकाले समयमै उपचार गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लु यतिबेला महामारी नभएर सामान्य फ्लुका रुपमा परिणत भइसकेकाले आत्तिनुनपर्ने जनाएको छ। स्वाइन फ्लु उपचार गरे निको हुन्छ र अहिलेसम्म मानिसबाट मानिसमा सरेको नपाइएकोले पनि त्यति धेरै आत्तिनु पर्दैन। यो रोग विशेष गरी जाडो याममा बढी फैलने अर्थात् मौसम परिवर्तन हुने समयमा फैलने भए पनि गर्मी याममा पनि यदाकदा देखिने गरेको छ डा. पुनले बताउनुभयो। यो रोग हावाको माध्यमबाट प्रभावित व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ भने विशेष सुगुरबाट मानिसमा सर्ने भएकाले सरसफाइ, रोगीको हेरविचारमा प्रयोग भएका सामग्रीको निर्मूलीकरणमा ध्यान दिनुपर्ने डा.पुन बताउनुहुन्छ।

यसको लक्षण घाटी दुख्ने, पखाला लाग्ने, ज्वरो आउने, वाक लाग्ने, रुघा लाग्ने जस्ता रहेको छ। जोगिनका लागि भीडभाडमा नजाने, जानै पर्दा माक्स प्रयोग गर्ने, हात नमिलाउने, एक मिटर टाढा बस्ने, झोल पदार्थ बढी मात्रामा खाने गर्नुपर्ने चिकित्सकको सल्लाह छ।

प्रतिक्रिया दिनुहोस्