फोहरबाट बिजुली निकाल्ने प्लान्टको उद्घाटन



 

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिकाले गत वर्ष तयार गरेको फोहोरबाट बिजुली निकाल्ने बायोमिथानेसन प्लान्टको मंगलबार उद्घाटन गर्दैगर्दा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले अब काठमाडौंमा फोहोरबाट बिजुली निकाल्ने कामको थालनी भएको दाबी गर्नुभयो।

करिब एक वर्षदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको प्लान्टको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदूत रेन्सजे टिरिन्कले मंगलबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। कामपाको २० प्रतिशत र युरोपेली संघको ८० प्रतिशत गरी १ करोड ८२ लाख रुपियाँ लगानीमा तयार गरीएको प्लान्टबाट उत्पादित बिजुली टेकु ट्रान्सफर्मर स्टेसनमा वितरण गरिएको छ।

प्लान्टमा दैनिक ३ मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३ सय किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन हुने भएको छ। राजधानीमा उत्पादित फोहरको मात्रा घटाउन र फोहोरबाट बिजुली निकाल्न यस्ता प्लान्टहरूको आवश्यकता औंल्याइएको छ। सो प्लान्टबाट हाल १४ किलोवाट बिजुली निकालिएको छ। सो प्लान्टबाट मिथेन ग्यास उत्पादन भइरहेको छ भने सोही ग्यासबाट बिजुली उत्पादन शुरु भएको छ। बिजुली उत्पादनका लागि टर्वाइन जडान गरिएको छ।

प्लान्टको उद्घाटन गर्दै मेयर शाक्यले कामपालाई फोहोरमुक्त राजधानीका रुपमा विकास गर्न नयाँ योजनाको थालनी भएको बताउनुभयो। हामीले काठमाडौंलाई सुन्दर र सफा शहरका रूपमा परिकल्पना गरेका छौं, सोहीअनुसार नयाँ कामको थालनी भएको छ’ –उहाँले भन्नुभयो। यो परियोजनाको सञ्चालनबाट वार्षिक सरदर २ हजार ५ सय टन बराबरको कार्वनडाइअक्साइड ग्यास उत्सर्जनमा कमी आउने अपेक्षा गरिएको जानकारी गराउँदै फोहोरबाट अन्य परियोजना सञ्चालन गर्ने सोच कामपाले अघि बढाएको बताउनुभयो।

प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन भए नयाँ ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले भन्नुभयो– फोहोरमुक्त राजधानी बनाउने अभियानको थालनी भएको छ। हामी सबैले सहयोग गर्नुपर्छ। युरोपेली संघ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले विश्वसामू सुन्दर शहरका रुपमा अघि बढाउन फोहर व्यवस्थापन मुख्य चुनौती रहेको औंल्याउनुभयो। उहाँले भन्नुभयो– ‘काठमाडौंलाई विश्वको सुन्दर शहर बनाउन संघले विभिन्न सहयोग गर्न तयार छ। कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले फोहरलाई उर्जाका रूपमा विकास गरिनुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्