भरतपुर अस्पताल प्रकोप व्यवस्थापनको हव बन्यो



चितवन, १३ असार । भरतपुर अस्पताललाई विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि हव (केन्द्र) अस्पताल बनाइएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट हुने मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका लागि मध्य क्षेत्रको लागि हव अस्पताल बनाएको हो । भरतपुर अस्पताल वरपरका सुविधासम्पन्न अन्य सरकारी तथा निजी अस्पताललाई स्याटलाइट अस्पतालको रुपमा तोकिएको छ ।

आवश्यकताअनुसार हव अस्पतालले स्याटलाइट अस्पतालसँग समन्वय र सहकार्य गर्ने बताइएको छ । विपद्का बेला स्वास्थ्य सेवा प्रदायक संस्थालाई समन्वय गराएर मानवीय क्षति कम हुने गरी व्यवस्थापन मिलाइने भरतपुर अस्पतालका विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनका सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसका लागि काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिको निर्देशन र समन्वयमा काम गरिने सामाजिक सेवा एकाइका प्रमुखसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् तथा प्रकोप व्यवस्थापन समिति रहेको हुन्छ ।

प्राकृतिक विपद्को बेला उपचारका लागि भरतपुर अस्पताललाई हव बनाएपछि अस्पतालले दिने सेवालाई प्रभावकारी बनाइने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बताउनुभयो । २०७२ सालको भूकम्पमा भरतपुर अस्पतालले अन्य जिल्लाबाट आएका भूकम्प प्रभावित घाइतेको उपचार गरेको स्मरण गर्दै कुनै पनि बेला आउने विपत्तिको लागि उपचार व्यवस्थापनमा भरतपुर अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो । विपत्तिको बेला काम गर्नका लागि मानसिकरुपमै तयारी रहन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले केन्द्रीय रिफरल अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई हवको रुपमा विकास गर्नाले गरिब जनताले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा विपद्को लागि दक्ष जनशक्ति रहेको भन्दै सबै अस्पतालसँग समन्वय गरेर काम गर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिका लागि सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले सेवासँगै मन्त्रालयले विशेष किसिमको तालिम दिनुपर्ने सुझाव दिनुभएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयमा विपद् व्यवस्थापनको लागि ¥यापिड रेस्पोन्स टिम (आरआरटी) बनाइएको हुन्छ । यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने भन्दै सबै अस्पतालले उत्तिकै चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाले कार्यक्रमको आयोजना गरेको हो । महाशाखाकी नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले विपद्को लागि योजनाबद्ध तरिकाले सबै निकायसँगको समन्वय र सहकार्यमा विपद् व्यवस्थापनको कार्य सहज हुने बताउनुभयो । भरतपुर अस्पताललाई हव अस्पताल बनाएपछि यस आसपासमा विपद्मा परेका नागरिकले सहज सेवा पाउने दाबी गर्नुभयो ।

देशकै मध्यभागमा रहेकाले छिमेकी जिल्लामा हुने दैवीप्रकोपबाट प्रभावित भएकालाई पनि सेवा दिन सहज हुने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्