धान दिवसको नारा ,दुई बाली धानको विस्तार, आर्थिक समृद्धिको आधार



ललितपुरको खोकनामा धान रोपाई गर्दै स्थानीय किसान। तस्वीरः उजोल डंगोल

 

काठमाडौं, (नेस)
कृषि विकास मन्त्रालयले १४औं राष्ट्रिय धान दिवसको नारा ‘दुई बाली धानको विस्तार, आर्थिक समृद्धिको आधार’ तय गरेको छ। मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा लिइने असार महिनामा किसानलाई रोपाइँको चटारो रहेको छ भने धानको उत्पादन बढाउन तथा कृषकको मनोबल बढाउन तथा श्रमको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ।

अहिले मुलुकमा करिब ५० प्रतिशत जमीनमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने अवस्था रहेको छ। चालू आर्थिक वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर २ हजार ९ सय ८० किलो रहेको छ। समुद्री सतहबाट ६० मिटर देखी ३ हजार मिटरसम्म धानको खेती गरिन्छ। नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानले कुल गार्हस्थ उत्पादनमा ६ दशमलब ५ प्रतिशत, कृषि क्षेत्रमा २० प्रतिशत र कुल खाद्यान्न बालीको ५० प्रतिशतभन्दा बढी ओगटेको छ। कृषि विभागको तथ्यांक अनुसार मुलुकभर करिब १५ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ।

असार १५ लाई रोपाँइँ महोत्सवका रूपमा पनि मनाइने गरेको छ। खेतमा रोपाइँ गरी दही चिउरा पनि खाने भएकाले दही चिउरा खाने दिनका रूपमा पनि असार १५ गतेलाई लिइने गरेको छ। नेपालमा २०६० सालदेखि धान दिवस मनाउँदै आइएको छ भने संयुक्त राष्ट्र संघले सन् २००४ बाट अन्तर्राष्ट्रिय रूपमा धान दिवस मनाउँदै आएको छ।

पहिले नै धान दिवस

रामधन राई, खोटाङ

स्थानीय तहअन्र्तगत दोस्रो चरणको निर्वाचनका कारण खोटाङमा असार १० गतेनै धान दिवस मनाइएको छ। असार १५ गते धान दिवस मनाउँदै आए पनि यो वर्ष असार १४ गते स्थानीय तहको निर्वाचन भएका कारण धान दिवस ओझेलमा पर्ने भन्दै १० गते नै विशेष कार्यक्रम गरी मनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

‘दुई बाली धान खेतीको बिस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित रूपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजागरण मुल कृषक समूहको क्षेत्रमा पर्ने खेतमा रोपाईं गर्दै धान दिवसलाई भब्य बनाइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो। औपचारिक कार्यक्रमका साथ १४औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल, कृषि विज्ञ मदन राई, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कृषक समूह,किसान, पत्रकारलगायत सहभागी थिए।

धान रोपाईंमा सरिक कृषि विज्ञ मदन राईले धान खेतीको उत्पादनमा अझै वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। धानको उत्पादकत्व बढाउन सकिने प्रशस्त सम्भावना समेत रहेको बताउँदै कृषि र पर्यटन नै देश विकासको आधार भएको उहाँले जनाउनुभयो। राईले हिउँदे धान वा चैते धान उत्पादनमा अझ जोड दिन आग्रह गर्नुभयो। भलपानीको भरमा खेती हुँदै आएकोमा सिँचाइको

व्यवस्था, अर्गानिक मलको प्रयोग तथा नयाँ प्रविधि अपनाई उन्नत जातका बीउ लगाई धान उत्पादन बढाउन सकिने राईले जनाउनुभयो। प्रति हेक्टर ३ टन उत्पादन भईरहेको धानलाई ६ टन नबनाए अपुग नै हुने राईको भनाइ छ। बर्खे धान मात्र करिब १० हजार हेक्टर क्षेत्रफलमा लगाइने जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन उत्पादन हुने गरेकोमा पछिल्लो समय हिउँदे धानप्रति पनि किसान आकर्षित हुन थालेपछि वर्षेनी धान उत्पादनमा वृद्धि हुँदै आएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो। घिमिरेको अनुसार यो वर्ष पनि धान उत्पादनमा वृद्धि हुने देखिएको छ। जनजागरण मुल कृषक समूह, सवल परियोजना र प्रयास⁄हेल्भेटासको सहआयोजनामा सदरमुकाम दिक्तेल बजार नजिकै धान दिवस तथा रोपाईं महोत्सव सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्