अरब मुलुक विवादमा कतारलाई अमेरिकाको समर्थन



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी सरकारले खाडी मुलुक विवादमा पछिल्लो घटनामा कतारको समर्थन गरेको छ। अमेरिकाले राजनीतिक संकट अन्त्यका लागि अरब देशले राखेको माग स्वीकार्न कतारलाई कठिन हुने बताएको छ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अरब देशले कतारसमक्ष राखेका माग पूरा गर्न उसका लागि कठिन हुने बताए। साउदी अरेबिया, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारसमक्ष १० दिनभित्र इरानसँग सम्बन्ध कम गर्न र टर्कीको सैन्य अड्डा बन्द गर्न माग राखेका थिए।


उनीहरूको मागको सूचीमा समाचार च्यानल अल जजिरा बन्द गर्नुपर्ने बुँदा पनि समावेश गरिएको छ। उक्त च्यानललाई कतार सरकारले आर्थिक मद्दत दिँदै आइरहेको छ।

कतारका विदेशमन्त्रीले गत शनिबार नै साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले राखेका १३ बुँदे मागलाई मान्न अस्वीकार गरिसकेका छन्।

टिलरसनले अरब देशहरूले एकैठाउँमा बसेर कट्टरपन्थीको समाधान निकाल्न र कट्टरपन्थीविरुद्ध आवश्यक कदम उठाउन भनेका छन्। यद्यपि उनले यी प्रस्तावले राजनीतिक संकटका बेला ती देशहरूबीच वार्ताको मार्ग प्रशस्त गर्ने पनि बताए।
कतारमाथि लगाइएका आरोपका बारेमा टिलरसनले भने– ‘कतारका सम्बन्धमा लिइएका पूर्वाग्रहलाई लिएर जुन बयानबाजी जारी छ, त्यसलाई कम गरेमा तनाव पनि कम हुनेछ।’

न्युज च्यानल अल जजिराले कतारका विदेश मन्त्रीलाई उद्धृत गर्दै भनेको छ– ‘अमेरिकी विदेशमन्त्रीले कतारमाथि प्रतिबन्ध लगाउने देशहरूसँग तार्किक र समाधानका लागि लायक भएका गुनासाहरू मात्र अगाडि राख्न भनेका छन्।’ अल थानीले भने– ‘बेलायती विदेशमन्त्रीले पनि मागहरू सुझबुझपूर्ण र यथार्थवादी हुनुपर्ने बताए। मागहरूको सूची यो आधारमा रहेको छैन।’

कतारसमक्ष राखिएका माग कट्टरपन्थीको सामना गर्नका लागि नभएर कतारको सम्प्रभुता र आफ्नो देशको विदेश नीति बाहिरबाट चलाउनका लागि भएको उनले बताए।

कतारको समाचार च्यानल अल जजिराले ती मागहरूलाई लिएर चारैवटा देशमाथि उसको अभिव्यक्तिको स्वतन्त्रतामाथि हमला भएको आरोप लगाएको छ। च्यानलले भनेको छ– ‘हामी पेशेवर तरिकाले कुनै सरकार र प्रशासनको अगाडि नझुकेर पत्रकारिता गर्नु हाम्रो अधिकार हो।’

संयुक्त अरब इमिरेट्सले यो संकटलाई लिएर सम्बन्ध पक्षहरूबीच मध्यस्थता गर्ने प्रयास गरिरहेको छ। संयुक्त अरब इमिरेट्सका विदेश मन्त्रीले शनिबार यदि कतारले ती माग मान्न अस्वीकार गर्छ भने उनीहरूबीचको मार्ग अलग्ग हुने चेतावनी दिएका थिए।
उनले भने– ‘अब यो मामिला अगाडि बढेको छैन, अब मार्ग नै अलग्ग हुनेछ।’ यही समूहका एक सदस्य सक्रिय रूपमा कट्टरपन्थ तथा कट्टरपन्थी उद्देश्यहरूलाई प्रोत्साहन गरिरहन्छ भने हामी एक समूह भएर बस्नु भनेको ठूलो कठिन काम हुनेछ।’ कतारमाथि प्रतिबन्ध लगाएपछि अरब देशले आफ्नो हवाई क्षेत्र तथा सबै सीमालाई कतारका लागि बन्द गरेको छ। यस स्थितिमा इरान र टर्की कतारलाई मद्दत गर्न अगाडि सरेका छन्।

अहिलेसम्म कतारले आफूलाई कुनै पनि आर्थिक संकट आउन दिएका छैन। तर छिमेकी देशहरूमा बस्दै आइरहेका कतारी नागरिक यो संकटबाट नराम्रोसँग प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्