लगानीको वातावरण बनाउन अर्थमन्त्रीलाई आग्रह



 

नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सोमबार भेट गरी निजी क्षेत्रको तर्फबाट अर्थतन्त्रका विविध विषयमा छलफल गर्यो।

उक्त भेटवार्ताका अवसरमा महासंघका अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसाय एवम् लगानीको वातावरण बनाउन अर्थमन्त्री समक्ष अनुरोध गर्नुभयो। अध्यक्ष राणाले मुलुकभित्र स्वदेशी एवम् विदेशी लगानी आकर्षित हुने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराउनु हुँदै विशेषगरी छिमेकी देशहरूबाट लगानी आकर्षणमा राज्यको ध्यान जानुपर्ने र सोका लागि नीतिगत स्थिरता, व्यावसायिक सुरक्षा, लगानीमैत्री वातावरण निर्माण जस्ता कुरा सरकारको मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। उद्यमी व्यवसायीहरूले भोगिरहेका समस्या राख्नु हुँंदै अध्यक्ष राणाले अनुसन्धानका नाममा क्षेत्राधिकार भन्दा बाहिर गई उद्यमी व्यवसायी माथि गरिएका धरपकड तथा मुद्दा लगायतका कार्यबाट उद्यमी व्यवसायीहरू त्रसित भइरहेको र उद्योग व्यवसायनै बन्द हुने परिस्थिति निर्माण हुँंदै गएकाले भन्दै राणाले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

अध्यक्ष राणाले बैकिङ ब्याज दर छिटो छिटो परिवर्तन नहुने व्यवस्था हुनुपर्ने, उद्योगको लागि न्यून ब्याजदरमा ऋण प्रवाह हुने व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको हालको स्प्रेडदर कम गर्नुपर्ने, प्रशासकीय पुनरावलोकन र राजस्व न्यायाधिकरणमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्था हुनुपर्ने, राजस्व न्यायाधिकरण ऐन २०३१ समसामयिक रूपमा संशोधन गरिनुपर्ने, राजस्व न्यायाधिकरणमा स्वतन्त्र व्यक्ति नियुक्त हुने व्यवस्था हुनुपर्ने लगायतका सुझाव सो अवसरमा राख्नुभयो।

व्यापारघाटा उच्च गतिमा बढिरहेकाले स्वदेशी उद्योगको विकास एवम् विस्तारमा जोडदिनु पर्ने र बढ्दो आयातलाई प्रतिस्थापन गर्न निर्यातलाई प्रवद्र्धन गरिनुपर्ने, सरकारको पुँजीगत खर्च समयमै खर्च हुने व्यवस्थामा अत्यन्त चनाखो हुनुपर्ने, औद्योगिक प्रवद्र्धन गर्न व्यवस्था भएका छुट र सुविधालाई पछि ल्याइने राजस्व नीतिले काट्न नहुने, प्रत्यक्ष वैदेशिक लगानीलाई निरुत्साहित हुने गरी राजस्व नीति तथा कार्यक्रम ल्याउन नहुने, औद्योगिक नीति, वाणिज्य नीति लगायतका नीतिसँग नबाझिने गरी एकरूपता कायम गरी राजस्व नीति ल्याउन सदैव चनाखो हुनुपर्ने कुरामा अध्यक्ष राणाले जोड दिनुभयो।

महासंघका तर्फबाट उपभोक्ता संरक्षण सम्बन्धी कानुनमा निजी क्षेत्रसँंग समेत पर्याप्त छलफल पश्चातमात्र संसदमा लगिनुपर्ने, स्वदेशी लगानी प्रवद्र्धन, पर्यटन विकासका लागि अत्यावश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने, चीनले अगाडि सारेको एक क्षेत्र एक रोड परियोजना अन्तर्गत नेपालमा ठूला परियोजनामा चिनियाँं लगानी आकर्षित गर्नुपर्ने, बंगलादेशसंँग पावर ट्रेड एग्रिमेन्ट गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनालाई तीव्ररूपमा अगाडि बढाउनुपर्ने, अन्तर मन्त्रालय समन्वय हुनुपर्ने, साफ्टाको प्रावधान अनुसार कृषि टायरमा दिइँदै आएको सहुलियत दिनुपर्ने, आौद्योगिक सुरक्षा बललाई बढी प्रभावकारी वनाउन साधन स्रोत सम्पन्न बनाउनुपर्ने, स्वदेशी उद्योग प्रवद्र्धन गर्ने माहोल बनाउनुपर्ने, स्वदेशी उद्योगहरूको प्रवद्र्धनका लागि प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने, मेला महोत्सव आयोजनामा आयकर लिने प्रथाको शुरूआत भएकाले त्यसको अन्त्य गरिनुपर्ने लगायतका सुझाव राखिएको थियो।

त्यसक्रमा अर्थमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई सम्मान र प्रोत्साहन गर्न आफूले भरमग्दूर प्रयत्न गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा आफ्नो मुख्य जोड रहने स्पष्ट पार्नुभयो। आफ्नो चाहना राष्ट्रको आर्थिक समृद्धिनै भएकाले उद्यमी व्यवसायीहरूसंँग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत उहांँले दिलाउनुभयो। महासंघले उठाएका समस्यालाई आफू र आफ्नो मन्त्रालयले अध्ययन गर्ने र त्यस क्रममा अझ बढी गहनरूपमा महासंघसँग पुनः बसेर छलफल गरी व्यवहारिक सुझावलाई कार्यान्वयन गर्ने दृढता प्रकट गर्नु हुँदै अर्थमन्त्री कार्कीले त्यसमा आफूलाई सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्