रहेनन् पोखराका पहिलो भारोत्तोलक



 

पोखरा, (नेस)
पोखराका पहिलो भारोत्तोलन खेलाडी सानुकाजी तझ्याको उपचारको क्रममा निधन भएको छ। गत बुधबार पोखरा विरौटास्थित नमस्ते अस्पतालमा उपचारको क्रममा निधन भएको आफन्तले जनाएका हुन्। उनको बिहीबार बिहान सेती नदी किनार रामघाटमा दाहसंस्कार पनि गरियो। ६३ वर्षीय तझ्या पोखराको खेलकुदमा ८ वर्ष सक्रिय रहे। २०३२ सालमा आफैं संस्थापक सदस्य रहेर महेन्द्रपुल स्पोर्टस क्लब स्थापना गरेपछि सो क्लबले पोखरामा भारोत्तोलन खेलको शुरूआत गर्यो। उनकै पहलमा भारोत्तलनका आधुनिक सामग्री क्लबमा भित्रिएपछि नियमित प्रशिक्षण शुरू हुनपुगेको थियो। शारीरिक सुगठनको खेल अभ्याससमेत उनलै शुरूआत गरेका थिए।

भारोत्तलनका खेलाडी तझ्याले खेलाडीको रूपमा पहिलो पदक भने शारीरिक सुगठनबाट प्राप्त गरे। २०३५ सालमा काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय शारिरीक सुगठन प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै पदक जित्ने खेलाडीमा आफूलाई दर्याएका थिए। त्यसपछि २०३७ सालमा नेपालगन्जमा आयोजना गरिएको दोस्रो राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ९० केजी तौलमा स्वर्ण पदक जिते।

काडमाडौं र पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभगिता जनाए। खेलाडी जीवनसँगै पोखर वडा नं. ९ का पूर्व वडा अध्यक्षसमेत बनेका तझ्या खेलकुद प्रतियोगिताबाट रिटायर्ड भएपछि उनी केवल प्रशिक्षणमा मात्रै रहे। तर, उनी राष्ट्रिय खेलकुद परिषद् आबद्ध प्रशिक्षक भने थिएनन्। उनकै प्रशिक्षणमा सुवर्ण कायस्थले भारोत्तोलनमा स्वर्ण पदक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्