अपराजित जर्मनी र चिली सेमिफाइनलमा



 

लन्डन, (एजेन्सी)
जर्मनी र चिली अपराजित रहँदै रसियामा जारी फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत आइतबार राति भएको अन्तिम खेलमा जर्मनीले क्यामरुनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। समूहको अंक तालिकामा २ जित र एक बराबरीसँगै ७ अंक जोडेको जर्मनी समूह विजेता बन्यो।

पहिलो हाफ गोलविहीन बनेको उक्त खेलको ४८औं मिनेटमा केरेम डेमिरबाएले डी–एरियाबाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत भएपछि जर्मनीले शुरूआती अग्रता लियो। जर्मनीको राष्ट्रिय टोलीबाट यो उनको डेब्यु म्याच थियो।
यता गोल फर्काउन आतुर क्यामरुनलाई खेलको ६४औं मिनेटमा अर्को झट्का लाग्यो। जर्मनीका एम्रेलाई फल गरेबापत अर्नेस्ट बुकाले रातोकार्ड पाएपछि क्यामरुन १० खेलाडीमा खुम्चिए। सो भिडियो रिप्लेमा हेरेर रातोकार्ड दिइएको थियो। यसको प्रत्यक्ष फाइदा जर्मनीलाई खेलको १३ मिनेटपछि नै मिल्यो। वेर्नरले डाइभिङ हेड गर्दै खेलको ६७औं मिनेटमा आकर्षक गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे। तर, खेलको ७८औं मिनेटमा भिन्सेन्ट अबुबकारले क्यामरुनका तर्फबाट एक गोल फर्काए। क्यामरुनले गोलअन्तर खुम्च्याएर खेलमा फर्कने प्रयास विफल भयो। त्यसको ३ मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीले अन्ततः खेल ३–१ ले आफ्नो पक्षमा पार्यो।

यस्तै आइतबार राति नै भएको अर्को खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरी खेल्दै चिली समूहको दोस्रो स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्य लिएर मैदानमा उत्रिए पनि सफलता भने चिलीको हात लागेको थियो। खेलको ४२औं मिनेटमा जेम्स ट्रोइसीले डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोलरक्षकलाई चिप गर्दै गोल गरेपछि अस्ट्रेलियालाई पहिलो हाफसम्म १–० ले अघि राखे।

तर, उक्त अग्रता खेलको ६७औं मिनेटमा तोडियो। मार्टिन रोड्रिग्वेजले ६ यार्डको दूरीबाट गोल गर्दै चिलीलाई खेलमा फर्काए। त्यसपछि एसियाली च्याम्पियन अस्ट्रेलियाले जितका लागि भरमग्दुर प्रयास जारी राख्यो। तर, बाँकी समयमा थप कुनै गोल नभएपछि बराबरीको नतिजासँगै चिलीले सेमिफाइनलमा स्थान पक्का गरे।

समूह ‘बी’ मा अपराजित रही उपविजेता बनेको चिलीले ३ खेलमध्ये एकमा जित र २ बराबरी खेल्दै ५ अंक जोड्न सफल भए। यता बराबरीमै चित्त बुझाउन बाध्य अस्ट्रेलिया २ अंकसहित समूहको तेस्रो बन्दा पुछारमा रहेको क्यामरुनको एक अंकमा यात्रा टुंगियो। यससँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ। जसअनुसार आगामी बुधबार राति हुने पहिलो सेमिफाइनलमा पोर्चुगलले चिलीको सामना गर्नेछ भने बिहीबार हुने दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोको चुनौती पाउनेछ।

भिडियो रिप्लेमा फेरी चेक गरेर अर्नेस्ट बुकालाई रातोकार्ड दिँदै रेफ्री विल्मार रोल्डान। उनले यसअघि गलत खेलाडी सेबास्टियन सायनीलाई रातोकार्ड देखाउँदा मैदानमा केही गलतफहमी भएको थियो।

प्रतिक्रिया दिनुहोस्