निर्वाचितहरू योजना ल्याउँदै, महानगरभित्र वृद्धवृद्धाको स्वास्थ्य जाँच घर–घरमै



ईश्वरराज ढकाल

काठमाडौं। काठमाडौं महानगरपालिकामा नयाँ पदाधिकारी आएपछि मोबाइल काण्डले हालै विवाद उत्पन्न गराए पनि वृद्धवृद्धालाई स्वास्थ्य जाँच गर्ने कुराले भने सकारात्मक प्रतिक्रिया आइरहेको छ। मोबाइल बाँड्ने भन्ने निर्णय मेयर र उपमेयरबाहेक अन्यका हकमा भने फिर्ता लिने काम भइसकेको छ। कामपाले यही असार १५ गतेदेखि ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धाको घर–घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा रहेका ५ सय ९६ वृद्धवृद्धाको स्वास्थ्य परीक्षणसँगै भत्ताबापतको २ हजार रुपियाँसमेत सँगै उपलब्ध गराउने भएको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वको जनप्रतिनिधिको पहिलो बैठकले वृद्धवृद्धालाई थप २ हजार भत्ता दिने निर्णय गरेको थियो। वृद्धभत्ताबापत उनीहरूले हाल १० हजार रुपियाँ पाउँदै आएका छन्। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही असार १५ गतेदेखि घरमै गएर वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘चार जनाको टोलीले स्वास्थ्य परीक्षण गरी उहाँहरूको निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ। पहिलो चरणमा स्वाथ्य परीक्षण गर्ने त्यसपछि सबै परीक्षण गरी आवश्यक परेमा औषधोउपचारसमेत गर्ने व्यवस्था गरिएको छ।

घर–घरमा पुगेको चिकित्सकको टोलीले पहिलो चरणमा रगत, दिसा–पिसाब परीक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। औषधी उपचार गरेपछि बिरामी भएमा कामपालाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको जानकारी गराउदै उहाँले भन्नुभयो– ‘हामीलाई खबर आउनासाथ हामी उपचार गर्ने व्यवस्था मिलाइदिनेछौं।’

कामपा जनस्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालय र महानगरपालिकाबीच भएको सम्झौताअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयबाट चिकित्सक, नर्स, हेल्थ असिस्टेन्ट र अनमीको टोलीले स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ‘एक टोलीमा ४ जना हुनेछन्, हामीले ४ वटा टोली बनाएका छौं’ –उहाँले भन्नुभयो।

सो टोलीले उपचार गरेपछि कुनै रोग देखिएमा राजधानीका शिक्षण, वीर र सिभिल अस्पतालमा थप उपचार गर्ने व्यवस्था मिलाइएको श्रेष्ठको भनाइ छ। ‘१५ गते १ वडामा स्वास्थ्य परीक्षण गराउनेछौं, त्यसपछि अन्य वडामा जानेछौं’ –उहाँले भन्नुभयो। पहिलो दिन मेयर शाक्यले स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुने भएको छ।

कामपाले घोषणा गरेको यो कार्यक्रमलाई महत्त्वका साथ लिइएको छ। औषधि उपचारका लागि सबै वृद्धवृद्धाको दुई वटा कार्ड हुनेछन्। एउटा कार्ड कामपाले रेकर्डका लागि राख्ने र एउटा वृद्धवृद्धालाई उपलब्ध गराउने भएको छ। ‘३२ वटै वडाका वृद्धवृद्धाको रेकर्ड राखिसकेका छौं। पहिलो दिन १ वडाबाट स्वास्थ्य परीक्षण र वृद्धि गरिएको २ हजार रुपियाँ सँगै दिने व्यवस्था मिलाएका छौं’ –प्रवक्ता कार्कीले भन्नुभयो।

यसैबीच कामपा वातावरण व्यवस्थापन विभागले ‘क्लिन काठमाडौं’ कार्यक्रमलाई सफल बनाउन दैनिकजसो विभिन्न क्षेत्रको सडक सफाइ अभियानलाई तीव्र बनाएको छ।

वडा कार्यालयको सिफारिसमा कामपाले सबै वडाका सडक सफाइलाई प्राथमिकता दिएको छ। विभागका प्रमुख रविनमान श्रेष्ठले सबै वडा कार्यालयको संयोजनमा सडकपेटी सफाइ भइरहेको बताउनुभयो। सडकपेटी सफाइलगत्तै विभिन्न खुला क्षेत्रमा वृक्षरोपण गर्ने कार्यक्रम अघि बढाएको उहाँको
भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्