ढुंगा मात्रै हान्दैनन् युवा



पर्यो भने युवाले स्थानीय सत्ता सञ्चालन गरेरसमेत देखाइदिन्छन् भन्ने कुरा  सिन्धुपाल्चोकका स्थानीय तहमा निर्वाचित युवाहरूले चरितार्थ गर्दै।

नानीराम नेपाल⁄सिन्धुपाल्चोक

युवा शक्ति प्रयोग मात्र हुन्छन् भन्ने बुझाई अझै पनि कायमै छ। आन्दोलन, लड–भिड अनि सडक तताउनका लागि मात्र युवाशक्तिलाई दलहरूले प्रयोग गर्दछन् भन्ने आम बुझाई रहिरहँदा स्थानीय तहको निर्वाचनले युवा शक्ति प्रयोग मात्रै हुँदैनन्, नेतृत्वमा नै पुग्न सक्छन् भन्ने दर्साएको छ। गाउँ तथा नगरका प्रमुखमा अधिकांश पाका उमेरका देखिए पनि उपप्रमुख र वडा तहमा युवा नेतृत्व उदाएको छ। जिल्लाका ३ नगर र ९ गाउँपालिकाका उपप्रमुख तथा अधिकांश वडामा युवाहरूको नेतृत्व देखिएको छ।

विकट जुगल गाउँपालिकामा २३ वर्षीया किशोरी सिर्जना तामाङ गाउँपालिकाकै उपप्रमुखमा निर्वाचित भएकी छन्। सम्भवतः उनी कलिलै उमेरमा गाउँपालिकाको उपप्रमुखको जिम्मेवारी पाउने मुलुककै कान्छी जनप्रतिनीधि हुन्। चौतारा साँगाचोकगढी र बाह्रबीसे नगरपालिकामा उपमेयरमा विजयी भएका जानुका पराजुली र सुशीला पाख्रिन दुवै जना युवा उमेरका नै हुन्। उमेरले उनीहरू दुवै जना ३५ कटेका छैनन्। बलेफी गाउँपालिकाकी उपप्रमुख कमला कायस्थ र सुनकोसी गाउँपालिकाकी लक्ष्मी पौडेल पनि उमेरले युवा नै हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका उनीहरू युवावस्थामै गाउँपालिकाको उपप्रमुखमा विजयी बने।

स्थानीय तहमा युवाहरूको सम्मानजनक उपस्थिति देखिएको छ। गाउँ नगरका वडा तहमा अधिकांश युवाहरूकै नेतृत्व चयन भएको छ। तीनैवटा ठूला दलले यस पटकको स्थानीय तह निर्वाचनमा युवाहरूलाई अवसर दिएका छन्। विद्यार्थी नेता ईश्वर तिमल्सिनाले २८ वर्षकै उमेरमा सुनकोसी गाउँपालिका–७ बाट वडाअध्यक्ष जितेका छन्। त्यस्तै बलेफी गाउँपालिका–८ मा पनि विद्यार्थी नेता चरिबहादुर तामाङले २७ वर्षकै उमेरमा चुनाव जितेका छन्। विद्यार्थी नेता तिमल्सिना र तामाङ दुवै जना एमालेबाट उमेदवार बनेर विजयी बनेका हुन्। तातोपानीका युवा दीपेन्द्र श्रेष्ठले पनि भोटेकोसी गाउँपालिकामा वडाध्यक्ष जिते। उमेरले भर्खर ३० कटेका उनी भोटेकोसी गाउँपालिका–२ मा माओवादी केन्द्रबाट चुनाव लडेर वडाध्यक्ष जितेका हुन्। बलेफी–५ मा एमालेबाट निर्वाचित विकास श्रेष्ठ हुन् या जुगल–५ मा नेपाली कांग्रेसबाट विजयी सनत अधिकारी नै। उमेरले विकास ३० वर्षमा टेकेका छन् भने सनत भर्खर २९ वर्षका मान्छे हुन्। ३५ वर्ष नकट्दै धेरै युवाहरूले यस पटकको स्थानीय तहमा नेतृत्वको बाजी मारेका छन्। ‘पार्टीले विश्वास गर्यो, जनताले पत्याए’, बलेफी–८ मा बाबुको उमेरका शंकर कार्कीलाई पछि पार्दै विजयी भएका चरिबहादुर तामाङ भन्छन्– ‘युवा सडकमा टायर बाल्ने मात्र होइन, स्थानीय सत्ता सम्हाल्ने ठाउँमा पनि पुग्न सक्छन्
भन्ने देखियो।’

प्रतिक्रिया दिनुहोस्