असल नेतृत्व छानौं



 

दोस्रो चरणअन्तर्गत भोलि बुधबार ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचन जनताको अभिमत प्रकट गर्ने सबैभन्दा महत्वपूर्ण अवसर हो । अरु बेलामा निर्वाचित पदाधिकारीहरू मत पाएपछि टाप कस्ने गरेको बारम्बार गुनासो सुनिने गरेको छ । तर, यो स्थानीय निर्वाचन नै भएकोले आफूले निर्वाचित गरेका पदाधिकारी गाउँ–ठाउँमै नियमितरूपमा भेटिनेछन् । उनीहरूलाई पीर–मर्का सुनाउन र त्यसको निदान खोज्न सजिलो हुनेछ ।

विगत २० वर्षअघिदेखि स्थानीय तहको निर्वाचन हुन नसकेका कारण विगत लामो समयदेखि स्थानीय जनता कर्मचारीतन्त्रको शासन खेप्न बाध्य भएका थिए । अहिलेको नयाँ अवस्था भनेको के हो भने, अब जनता आफूद्वारा निर्वाचित पदाधिकारीसँग नै आफ्ना समस्या राख्न सक्नेछन् । स्थानीय तहलाई अहिले सशक्त बनाइएका कारण अब सिंहदरबारको अधिकार गाउँमा पुग्ने अवस्था रहेको छ ।

गएको वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा जसरी जनता उत्साहित रहेका थिए, अहिले पनि त्यो उत्साह उस्तै छ । पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षा पुग्न नसकेका कारण धेरै मत बदर भएको कुरासमेत सार्वजनिक भएको थियो । यसपालि पनि त्यस्ता गुनासा आइरहेका छन् ।

निर्वाचनभन्दा अगाडि आजको दिन मात्रै बाँकी रहेकाले अब सबैलाई शिक्षा दिन सम्भव नहोला तर मतदान केन्द्रमा सर्वसाधारणलाई मतदानको तरिका सिकाउनु पनि जरुरी होला । ठूलो मतपत्र भएकाले केही समय लाग्दैमा जनतासँग झर्कोफर्को गर्ने काम गर्नुहुँदैन । यससम्बन्धमा निर्वाचनमा खटिएका कर्मचारीले पनि आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको छ । कम समय भएका कारण निर्वाचन आयोगले भनेजस्तो शिक्षा दिन नसकेको भए पनि मतदानकै समयमा यससम्बन्धमा कर्मचारीले गर्ने व्यवहार र बनाइदिने सहज वातावरणले मतदातालाई आफ्नो अभिमत प्रकट गर्न सहज हुनेछ ।

दोस्रो चरणको निर्वाचनका क्रममा केही स्थानमा बम राख्ने र पड्काउने जस्ता कार्य गरेर वातावरण धूमिल बनाउने प्रयास गरिए पनि सुरक्षा निकायको सतर्कताका कारण अप्ठेरो अवस्था भने सिर्जना भएको छैन । यद्यपि यस्ता घटना दोहोरिन सक्ने भएकाले सुरक्षा निकायले पनि थप सतर्कता अपनाउनु जरुरी छ ।

स्थानीय तहको निर्वाचन चरणबद्धरूपमा भइरहेकोले सबैतिरका जनताले स्थानीय स्तरको विकास निर्माण, स्थानीय तहमा सरसहयोग गर्ने र समग्रमा मुलुकलाई नै टेवा पुर्याउने खालको उम्मेदवार चयन गर्नु जरुरी छ । मतदानअघि सोच्ने समय आजका लागि मात्रै रहेकोले सर्वसाधारणले गम्भीरतापूर्वक ध्यान दिएर आफ्ना असल जनप्रतिनिधि छान्ने काममा नचुकौं ।

प्रतिक्रिया दिनुहोस्