मौन अवधिमा हिसाबकिताब, ठूला नेताहरू घरमै बसेर कार्यकर्ताहरूसँगको परामर्शमा



 

मधुसूदन रायमाझी, काठमाडौं
भोलि असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधि शुरू भएपछि प्रमुख दलका शीर्ष नेताहरू चुनावी हिसाबकिताबमा लागेका छन्। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले आफू नै पहिलो हुने दाबी गरेका छन्। ३ वटा प्रदेशमा ३५ जिल्लाका ३ सय ३४ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनमा कसले कति सिट जित्ला भन्ने बारेमा नेताहरूबीच सोमबार आन्तरिक रुपमा छलफल र हिसाबकिताब भएको बुझिएको छ। मौन अवधि आइतबार मध्यरातबाट शुरू भएको हो।

चुनावी सभालाई सम्बोधन गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजधानी काठमाडौं फर्किसक्नुभएको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामै रहनुभएको छ। प्रमुख दलका शीर्ष नेता ३ सय ३४ स्थानीय तहमा पार्टीको अवस्थाका बारेमा जानकारी लिन व्यस्त पाइएका छन्। चुनावी रणनीतिको साथै पार्टीभित्र नै असन्तुष्ट पक्षलाई मनाउने काममा नेताहरू लागेको स्रोतहरूले बताएका छन्।

कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ। उहाँ असार १४ गते मतदान गरेर मात्र राजधानी फर्कने कार्यक्रम रहेको छ। मौन अवधिमा उहाँले डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको पार्टी कार्यालयमा बसेर पार्टीका नेता तथा कार्यकर्ताहरूसँग चुनावका बारेमा आन्तरिक गृहकार्यमा जुटनुभएको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले स्थानीय तहको निर्वाचन हुने ठाउँको बारेमा जानकारी लिने र नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने काम भइरहेको बताउनुभयो। ‘निर्वाचन हुने सबै स्थानीय तहका बारेमा जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको छ।’ –स्वकीय सचिव देउवाले भन्नुभयो।

चुनावी सभाअन्तर्गत आइतबार देउवाले डडेलधुराको तीन वटा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। देउवाले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने आकलन गर्नुभएको सचिवालयले बताएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावी सभा सम्पन्न गरेर राजधानी पर्किनुभएको छ। मौन अवधिमा के गर्दै हुनुहुन्छ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा उहाँले भन्नुभयो– ‘म मौन अवधिमा मौन भएर घरमै बसेको छु।’
मौन अवधिमा राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका कार्यकर्ताहरूसँग अनौपचारिक छलफलमा जुटेका छन्। शीर्ष नेताहरू निर्देशन दिने र पार्टीभित्र असन्तुष्ट रहेकाहरूलाई सम्झाउने काममा लागेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमवार बुटवल उप–महानगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेर राजधानी फर्किनुभएको छ। ओलीका स्वकीय सचिव राजेश वज्रचार्यले अध्यक्षले निवासमै बसेर पार्टीको रिपोर्ट लिनुको साथै आवश्यक निर्देशन दिइरहनुभएको छ।

निर्वाचनको मौन अवधि शुरु भए पनि सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रमा ओली सहभागी हुनुभएको थियो। मौन अवधिमा स्थानीय तहको पहिलो निर्वाचनको क्रममा पनि एमालेले पत्रकार सम्मेलन गरेको थियो। वज्रचार्यले पत्रकार सम्मेलनमा अध्यक्षले भोट माग्ने काम नगरेको बताउँदै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगसँग माग गरेको बताउनुभयो।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आफ्नो गृहजिल्ला इलाममा रहनुभएको छ। नेता खनालले मौन अवधिमा पार्टीका कार्यकर्ताहरूसँग कुराकानी गर्ने काममा रहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चुनावी सभालाई सम्बोधन गर्ने क्रममा स्वरमा समस्या आएकाले मौन बसेको छु।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मौन अवधिमा आफ्नै निवास लाजिम्पाटमा बसेर सोमबार चुनावी हिसाबकिताबमा व्यस्त रहनुभयो। प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले निर्वाचन हुने स्थानीय तहमा पार्टी र उम्मेदवारसँग जानकारी लिने काम गरिहरनुभएको बताउनुभयो। प्रचण्ड झण्डै एक साताको चुनावी सभालाई सम्बोधन गरेर राजधानी फर्किनुभएको थियो। प्रचण्डको भनाई उद्धृत गर्दै तिमल्सिनाले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचनमा तीन दलबीच नै प्रतिस्पर्धा हुन्छ, दोस्रो चरणको निर्वाचनमा कांग्रेस र माओवादीको बीचमा नै प्रतिस्पर्धा हुन्छ।’

पहिलो चरणको निर्वाचनमा अन्तिम अवस्थामा चुनावी तालमेल गर्दा राम्रो परिणाम नआएको निष्कर्ष निकाल्दै यस पटक विराटनगर महानगरपालिका र बुटवल महानगरपालिकालगायतका स्थानमा भएको तालमेलमा राम्रो परिणाम आउने दाबी प्रचण्डको रहेको उहाँका निकटस्थहरूको भनाइ रहेको
छ। ‘मौन अवधिमा कुनै भेटघाट र औपचारिक कार्यक्रम राखिएको छैन’ –तिमल्सिनाले भन्नुभयो। नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका उप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा गृहजिल्ला रोल्पामा रहनुभएको छ। चुनावको मौन अवधि शुरु भएपछि शीर्ष नेताहरु चुनावी रणनीति बनाउनेदेखि लिएर हिसाबकिताबमै व्यस्त देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्