‘छिसिक्क गर्न खोजे कर्यापझ्याप’



 

विमल विष्ट, डोटी
७ नं. प्रदेशका क्षेत्रीय सुरक्षा समितिका संयोजक तथा क्षेत्रीय प्रशासक सुशीलकुमार ढुंगानाले सुदूरपश्चिममा सुरक्षाको सम्पूर्ण व्यवस्था मजबुत बनाएको बताउनुभयो। क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी उहाँले ७ नं. प्रदेशका मतदाताहरूका लागि घरदेखि घरसम्म सुरक्षा व्यवस्था मिलाइएको बताउनुभएको हो। मतदान गर्न घरबाट निस्केदेखि मतदाता हिँड्ने बाटो, मतदान स्थलबाट घर नफर्किदासम्म सुरक्षा दिन सक्ने सम्पूर्ण प्रबन्ध गरेको बताउँदै ढुंगानाले भन्नुभयो– ‘मतदाताले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गरे हुन्छ, हामीले १५⁄१५ मिनेटको दूरीमा अप्ठेरा र जोखिम ठाउँमा सुरक्षाकर्मी भेटिने गरी व्यवस्था मिलाइसकेका छौं, कसैले छिसिक्क गर्न खोजे कर्यापझ्याप गरिन्छ।’

प्रत्येक स्थानीय तहमा सेनाको बख्तरबन्द गाडी, बम डिस्पोजल टोलीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृतहरूको कमान्डमा तीन तहको घेरामा सुरक्षाकर्मीहरू परिचालन भइसकेको जानकारी दिइएको छ। त्यस्तै अति संवेदनशील क्षेत्र मानिएका यहाँका निर्वाचन क्षेत्रहरूमा नेपाली सेनाको युद्ध भैरव गण तथा सेन्जर बटालियनको स्फेसल फोर्स परिचालन गरिएको छ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम पृतना दिपायल, राजपुरका पृतनापति दीपकप्रसाद भारती, नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख रोजेन्द्र देउजा, सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख डीआईजी खड्गबहादुर राई र राष्ट्रिय अनुसन्धान सुदूरपश्चिमका निमित्त प्रमुख टेकबहादुर कार्कीको समेत उपस्थिति रहेको थियो। ७ नं. प्रदेशका ८८ स्थानीय तहमा २२ हजार ७ सय सुरक्षाकर्मी र १६ हजार ८ सय निजामती कर्मचारी निर्वाचन सम्पन्न गराउन खटिएको क्षेत्रीय सुरक्षा समितिले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्