जहाँ नदीबिनै जाँगर तरिन्छ



 

कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज आर्थिक नगरीको रूपमा देशभर चिनिने गरे पनि वीरगन्जकै हाल भने कन्तबिजोग छ।

खास गरी बर्खायामको समयमा सामान्य पानी पर्दा समेत निकासको उचित व्यवस्था नहुँदा वीरगन्ज डुबानमा पर्ने गरेको हो। सामान्य वर्षात्को समयमा समेत स्थानीयहरू ठूलै नदीमा बाढी आएर नदी तरेको जसरी मूल सडकमा हिँड्नुपर्ने बाध्यता रहेको छ। वीरगन्जका अधिकांश भागमा डुबान समस्या भए पनि सबैभन्दा बढी आदर्शनगर इलाकामा रहेको छ। आधा घण्टा मुसलधारे पानी पर्नासाथ आदर्शनगरमा जाँगर तर्नु पनि बाध्यता आउने स्थानीय व्यवसायी दीपक टिवरेवालले बताए।

व्यापारिक केन्द्रबिन्दु रहेको आदर्शनगरमा पानी परेसँगै डुबान हुनासाथ सबै व्यवसाय समेत चौपट हुने गरेको उनी गुनासो गर्दछन्। निकासको उचित व्यवस्था नहँुदा आदर्शनगर क्षेत्रमा अत्यधिक डुबान हुने गरेको अर्का व्यवसायी सञ्जय अग्रवालले बताए। वीरगन्ज महानगरपालिकाले वर्षेनी नाला निर्माण तथा ढल व्यवस्थापनका लागि भन्दै २० करोड रुपियाँ निकासा गर्ने गरेको भए पनि यो व्यावहारिक रूपमा कतै नदेखिएको भन्दै नगरबासीले आपत्ति जनाएका छन्। वीरगन्जको बाहिरी भाग निर्माणको जिम्मा हाल एडीबीको सहयोगमा कालिका कन्ट्रक्सनले गरिरहेको छ भने भित्री भागको निर्माणको जिम्मा महानगरपालिकाकै भएको स्थानीय बताउँछन्।

यद्यपि वीरगन्ज महानगपालिकाका वरिष्ठ इन्जिनियर प्रकाश अमात्यले भने महानगरपालिकाले आफ्नो स्रोतसाधनले भ्याएसम्म काम गरेको जिकिर गरेका छन्। उनले पानीको निकास सहज नहुनुमा नगरबासी पनि जिम्मेवार हुनुपर्ने तर्क गरेका छन्। नाला नै जाम हुने गरी र नाला नै अतिक्रमण गरेर भवन बनाइएका कारण अहिले वीरगन्जमा डुबानको समस्या बढेको उनी बताउँछन्। नाला व्यवस्थापनका लागि वीरगन्जका केही ठूला घर तथा भवनहरू भत्काउनुपर्ने आवश्यकता नै रहेको उनी तर्क गर्छन्।
वीरगन्ज महानगरपालिकाले केही वर्ष अगाडि यो अभियान सञ्चालन गरेको भए पनि नगरका केही व्यक्तिहरूले अदालतमा मुद्दा दायर गरेपछि सडक बिस्तारसँगै नाला व्यवस्थित पार्ने कार्य पनि रोकिएको हो। खास गरी बर्खायामको यो समयमा वीरगन्जको आदर्शनगरसहित मुर्ली, घण्टाघर, दुई नम्बर रोडका क्षेत्रहरू डुबानमा पर्ने गर्दछन् भने यी स्थानहरू हिलाम्यसमेत हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्