सुत्केरीको ज्यान बचाउँदै दुर्गमका डाक्टर



 

दयाराम पण्डित, बाजुरा
बाजुराको विकट पाण्डवगुफा गाउँपालिका–३ की फुलटुक्का ढोलीको ज्यान बचाउन हेलिकोप्टर प्रयोग गरिएको छ। तीन दिनदेखि सुत्करी व्यथाले च्यापेकी ढोलीलाई हुनी मोहोती स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै सम्भव नभएपछि हेलिकोप्टर प्रयोग गर्नुपरेको हो जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ।

‘म हिजो शनिबार पोषण कार्यक्रमकको प्रभावकारितासम्बन्धी अनुगमन गर्न सदरमुकाम बाहिर थिएँ, अपराह्न ५ बजे हुनी मोहती स्वास्थ्य चौकीबाट फोन आयो सुत्केरीको अवस्था नाजुक हँुदै गएको छ भनेर। मैले तुरुन्तै प्र्राथमिक उपचारका विधि अपनाउन निर्देशन गरें तर सम्भव भएन मैले वैकल्पिक उपाय अपनाउन गोत्रीबाट कोल्टी ल्याउन निर्देशन गरें। तर, कम्तीमा ५ घण्टा पैदल दूरीमा स्टेचरमा बोकेर ल्याउन पनि नसकिने अवस्था भयो। उनलाई बोकेर ल्याउने मान्छे पनि भएनन्’, डा. विश्वकर्माले भन्नुभयो– ‘उनको ज्यान बचाउनकै लागि क्षेत्र स्वास्थ्य मन्त्रालयका सचिवसम्म कुरा पुर्याएँ। त्यति बेलासम्म बेलुकी आठ बजिसकेको थियो। हेलिकोप्टर उडाउन सकिएन। यता नेपाली सेनालाई अनुरोध गरें त्यो पनि सम्भव भएन।’

मन्त्रालयबाट रकम क्षेत्रीय कार्यालय दिपालय पठाउने भएपछि हेलिकोप्टरको जाहो गरेर सुत्केरीको ज्यान बचाएको उहाँको भनाइ थियो। ४ लाख ५० हजार रुपियाँ भुक्तानी दिने गरी बाजुराको हुनीमा हेलिकोप्टर अवतरण गराएको डाक्टर विकले जानकारी दिनुभयो।

सुत्केरी व्यथाले अन्तिम अवस्थामा पुगेकी ती ढोलीलाई आइतबार भेरी अञ्चाल अस्पाल नेपालगन्ज रिफर गरी उनले बच्चा पाइसकेकी छन् भने स्वास्थ्य अवस्था पनि सुदृढ हुँदै गएको डा. विकले बताउनुभयो। ढोलीलाई सुत्केरी व्यथाले च्यापेपछि शनिबार बिहान ५ः३० बजे झिल्ली फुटिसकेको पाठेघरको मुख पनि खुकुल्लो हँुदैँ गएको, पेटको कडापन नरम हँुदै गएको डाक्डर विकले बताउनुभएको थियो।

गोत्रीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन ६ घण्टा लाग्छ भने जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याउन २० घण्टाको पैदल दूरीमा हिँड्नुपर्ने बाध्यता थियो त्यो समयमा उनको ज्यान अत्यन्त जोखिममा पर्ने देखिएकाले गाउँमै हेलिकोप्टर पुर्याउनुपरेको हो। डाक्टर विश्वकर्माले यसअघि पनि नेपाली सेनाको जहाज कोल्टीमा दुर्घटनामा परी घाइते भएका सेनानी अनिता आले र सुबेदार पूर्णबहादुर खड्काको हवाईजहाजमै उपचार गर्दै काठमाडौं पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्