गाउँपालिका राष्ट्रिय महासंघ गठन



 

टंकराज अधिकारी, पोखरा
प्रदेश नं. ४ का गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूको एक भेलाले गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश स्तरीय समन्वय समिति गठन गरेको छ। गाविस राष्ट्रिय महासंघले गाउँपालिका राष्ट्रिय महासंघ गठन र भावी रणनीति तय गर्न शनिबार र आइतबार पोखरामा भेला आयोजना गरेको थियो। भेलामा प्रदेश नं. ४ अन्तर्गतका ५८ गाउँपालिकाका १ सय १६ जना जनप्रतिनिधिमध्ये ९६ जना सहभागी थिए। भेलाले गाविस महासंघको विधान संशोधन गरी गाउँपालिका महासंघ बनाउने निर्णय गरेको छ।

यसै गरी संविधानले स्थानीय तहलाई दिएको अधिकार सीधै कार्यान्वयन गर्र्ने भेलाको निर्णय गरेको छ। साथै नेपाल सरकारले गरेको निर्णयहरू, संघीय कानुनहरू र संविधान संशोधनका बुँदाहरूमा स्थानीय जनप्रतिनिधिहरूको हकअधिकार रक्षा गर्नका लागि एक नेटवर्क बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले गाउँपालिका महासंघ गठन गरेको महासंघका कार्यकारी निर्देशक विमल पोखरेलले जानकारी दिए।

गाविस महासंघका केन्द्रीय महासचिव एवं धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाको अध्यक्षतामा भएको भेलाले गोरखाको भीमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेलाई संयोजक चयन गरेको छ। महासंघको सह–संयोजकमा पर्वतको महाशीला गाउँपालिकाका प्रमुख राजु पौडेल चयन भएका छन्। यसै गरी महासंघको सदस्यहरूमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ, बाग्लुङको तमाङखोला गाउँपालिकाका प्रमुख जोगलाल बुढा, ताराखोला गाउँपालिकाका उपप्रमुख डिलकुमारी पुन, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रमुख दीर्घनारायण अर्याल, आँधिखोला गाउँपालिकाका प्रमुख सुधीरकुमार पौडेल रहेका छन्।

यसैगरी तनहुँको रिसिङ गाउँपालिकाका प्रमुख राजेन्द्र श्रेष्ठ, गोरखाको सुलीकोट गाउँपालिकाका प्रमुख विष्णुप्रसाद भट्ट, नवलपरासीको हुम्सीकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डे, म्याग्दीको धवलागिरि गाउँपालिकाका थमसरा पुन, लमजुङको मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ, पर्वतको पैंयुँ गाउँपालिकाका उपप्रमुख जसमती गुरुङ र मुस्ताङको धरपझोङ गाउँपालिकाका उपप्रमुख शर्मिला गुरुङ पनि गाउँपालिका महासंघको सदस्यमा चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्