शिक्षा मन्त्रालयद्वारा त्रुटि स्वीकार



हेटौंडा, (नेस) । शिक्षा मन्त्रालयअन्तर्गत्को पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पाठ्यपुस्तकमा भएको गल्ती स्वीकार गरेको छ । केन्द्रले कक्षा ७ को नेपाली विषयको एउटा पाठमा त्रुटि भएको स्वीकार गरेको हो ।

नेपाली विषय पुस्तकको पृष्ठ ३१ मा रहेको पाठ ४ को अभ्यास नम्बर ८ मा ‘विपरीतार्थी शब्द मिलाऊ’ भन्ने ठाउँमा गल्ती भएको स्वीकारिएको छ । ‘विपरीतार्थ शब्द जोडा मिलाएर कापीमा सार’ भन्ने अभ्यासमा ‘मधेशी’ को विपरीतार्थी शब्द ‘पहाडी’ दिइएको भन्दै मकवानपुर जागरण अभियानलगायत शिक्षासम्बद्ध संघसंस्थाद्वारा यसको विरोध भएको थियो ।

विभिन्न संघसंस्थाले यसको विरोध गर्दै यस विरोधाभाष रहेको किताबको पृष्ठ ३१ जेठ २८ गते हेटौंडामा जलाउनुका साथै जिल्ला शिक्षा कार्यालय मकवानपुरमार्फत् किताब सरकारलाई फिर्ता गरेर सुधार्र्न माग गरेका थिए ।

 

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले सूचना प्रकाशन गर्दै सामाजिक, साँस्कृतिक सन्तुलन र साँस्कृतिक सद्भावका दृष्टिले मधेशी र पहाडी शब्दलाई विपरीत अर्थमा प्रयोग गर्नु उपयुक्त नदेखिएको स्वीकारेको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकबाट उक्त शब्द हटाएर अध्ययन÷अध्यापन गर्न अनुरोध गर्दै आगामी संस्करणमा संशोधन गरेर प्रकाशन गर्ने बताएको छ ।

 

उक्त शब्दलाई लिएर नेपाल सरकारको गुनासो सुन्ने ट्विटर ह्याण्डलमा पाठ्यक्रम विकास केन्द्रले छापेको पुस्तकमा उक्त गल्ती औंल्याइएको थियो । फलस्वरुप जुन ७ मा शिक्षा मन्त्रालयको गुनासो सुन्ने ट्विटर ह्याण्डलले पाठ्यक्रम विकास केन्द्रलाई उक्त विषयबारे आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्