प्रत्येक मतदान केन्द्रमा सेनाको वम डिस्पोजल टोली खटिने, जटिल अवस्थामा र संबेदनशील केन्द्रवाट मतपेटिका ढुवानी हेलिकप्टरबाट



नेपाल समाचारपत्र, काठमाडौं ।

बुधबार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हुनसक्ने अप्रिय घटनालाई मध्यजनर गरी प्रदेश नम्बर ७ का सबै मतदान केन्द्रमा बम डिस्पोजल टोलीसहितको सुरक्षा व्यवस्था मिलाइएको क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले बताएका छन् ।

 

स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको बस्तुस्थितिका बारेमा जानकारी गराउन डोटीको दिपायलमा गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासक ढुङ्गानाले भने, ‘मतदान, मतपेटिका ढुवानी, मतगणना र बिजय उत्सवलाई समेत ध्यानमा राखेर हामीले सुरक्षा योजना वनाएका छौं’ ।

प्रत्येक स्थानीय तहमा एक बम डिस्पोजल टोलीको व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, ‘प्रदेश भरिमा ९० बम डिस्पोजल टोली, एक माईन डिटेक्टिभ वहान र नेपाली सेनाको रेञ्जर फोर्स पनि तयारी अवस्थामा छ ।’

‘निर्वाचन सुरक्षाकाकारण सोमवारबिहानै देखि अन्तराष्ट्रिय सिमाना ७२ घण्टाका लागि शील गरेका छौं’ उनले भने ‘आन्तरिक ९प्रदेश प्रदेशबीचको सिमाना० सिमाना पनि शील गर्नका लागि प्रदेश नं ६ को सुरक्षा संयन्त्रसँग छलफल भइरहेको छ ।’

प्रशासक ढुंगानाले निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जनाए । ‘बिगतका अनुभवहरु र सुरक्षा अवस्थालाई ध्यान दिँदै यस प्रदेशका तीन सय १८ मतदान केन्द्रहरुलाई अति संबेदनशील र तीन सय ३७ केन्द्रलाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाएका छौं’ पत्रकार सम्मेलनमा ढुंगानाले भने ।

उनले यहाँका प्रत्येक मतदान केन्द्रहरुमा नेपाली प्रहरी र म्यादीसमेतको २० जनाको टोली हुने तथा सशस्त्र प्रहरी पनि परिचालन गरिने जानकारी दिए ।

एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ७ नं। प्रदेशमा रहेका ८८ स्थानीयको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २२ हजार ७०५ सुरक्षाकर्मी परिचालनगरिएको ढुङ्गानाले जानकारी दिए ।

५ हजार १०० नेपाली सेना, ८ हजार २७८ नेपाल प्रहरी, ६ हजार ४७० म्यादी प्रहरी र २ हजार ६८८ साजै १२० जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सुदूरपश्चिममा परिचालन गरिएको प्रशासक ढुंगानाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सुरक्षा अवस्थाबारे जानकारी गराउँदै ढुङ्गानाले भने ‘हामीले मतदानस्थलदेखि मतदातको घर–घरसम्मको सुरक्षा व्यवस्था मिलाएका छौं ।’

८८ स्थानीयतहको चुनाव सम्पन्न गर्नका लागि एक हजार एक सय ९ मतदान स्थल र एक हजार सात सय ८१ मतदान केन्द्रमा मतदान हुनेछ । यस प्रदेशमा १३ लाख नौ हजार पाँच सय ४६ मतदाता रहेको ढुङ्गानाले जानकारी दिए ।

उनले भने ‘मतदान सम्पन्न गराउनका लागि १६ हजार आठ सय कर्मचारीहरु खटाइएका छन । सुरक्षा संबेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय दिपायलमा हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ ।’ हेलिकप्टरलाई जटिल अवस्थामा र संबेदनशील केन्द्रवाट मतपेटिका ढुवानीका लागि प्रयोग गरिने उनले वताए ।

मतगणनाका लागि प्रत्येक स्थानीय तहमा दुई टोली बनाइएको र चार दिनभित्र सवै स्थानीय तहको परिणाम घोषणा भइसक्ने पनि उनले वताए । निर्वाचनका क्रममा अवान्छित क्रियाकलापहरु हुन सक्नेतर्फ मध्यनजर गर्दै हालसम्म १६ जनालाई नियन्त्रणमा लिइएको ढुङ्गानाले वताए । उनले भने ‘मतदाताको पूर्ण रुपमा सुरक्षा हुन्छ, ढुक्क भएर मतदानगर्न जान म सवैलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्