‘ढुक्क भएर मतदानमा सहभागि हुनु’ –डिआईजी पुडासैनी



यमलाल भुसाल, बुटवल ।
दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको मिति आउन दुई दिन मात्रै बाँकी रहँदा प्रदेश नम्बर ५ अन्र्तगतको प्रहरीले सुरक्षाको पूर्ण प्रवन्ध मिलाईएको र सुरक्षाका कारणले कसैले पनि सन्त्रास लिनु नपर्ने प्रष्ट पारेको छ ।

 

पश्चिम क्षेत्र अन्तरगर पाँच नं. प्रदेशका स्थानीय तहमा निर्वाचनको तयारीका बारेमा जानकारी गराउन प्रहरीले सोमबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गरि निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात गर्नुपर्ने कामको सम्पूर्ण तयारी पुरा भएको प्रहरी नायव महानिरिक्षक मुधुप्रसाद पुडासैनीले जानकारी गराउनु भयो ।

 

प्रदेश नं. ५ अन्तरगत लुम्बिनी अञ्चलका ६ जिल्लामा एक उपमहानगरपालिका, २१ वटा नगरपालिका र ३९ वटा गाउँपालिका गरी ६१ वटा स्थानीय तह छन् । त्यस्तै ९१० वटा मतदान स्थल र ८७७ वटा केन्द्र छन् । त्यसमध्ये ३४६ वटा मतदान स्थललाई प्रहरीले अतिसंवेदनशिलको सूचिमा राखेको छ । त्यस्तै २४५ स्थान संवेदनशिल र ३९१ वटा स्थानलाई सामान्यको सूचिमा प्रहरीले राखेको छ ।

 

सुरक्षा समितिले निर्वाचन बहिस्कार गर्ने, तथा बिरोध गर्ने, बाढी पहिरो जस्ता कारणबाट हुनेसक्ने संभावित क्षेती हुन नदिनकालागि तीन प्रकारको सुरक्षा रणनीति बनाएर सोही अनुसार पूर्व सूचना संकलन गर्ने र सोही अनुसारको सुरक्षा प्रवन्ध मिलाईएको उहाँले बताउनु भयो । सुरक्षाको पूर्ण प्रवन्ध मिलाएको बताउँदै उहाँले आम मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागि हुन पनि आह्वान गर्नुभयो ।

लुम्बिनी अञ्चलमा ७ हजार २८० प्रहरी तथा ७ हजार ८७५ म्यादी प्रहरी परिचालन गरिएको छ भने एउटा मतदान स्थलमा २३ जना सम्म प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

 

सुरक्षा संवेदनशिलताका आधारमा अतिसंवेदनशिल स्थानमा प्रहरीले सुचना संकलन गर्ने र त्यसका आधारमा मोवाईल गस्ति परिचालन गरिएको तथा स्ट्रयाकिङ्लाई प्रभावकारी रुपमा परिचालन गर्ने रणनीति अनुसार तयारी अवस्थामा राखिएको उहाँले जानकारी गराउनु भयो ।

प्रहरीले सुरक्षा व्यबस्थालाई शान्तिपूर्ण बनाउनकै लागि निर्वाचनको विषयलाई लिएर असन्तुष्ट पक्षबाट भएको बिरोधका कार्यक्रमलाई नियन्त्रण गर्ने क्रममा १४ जनालाई प्रहरीले मुद्धा चलाएको छ । त्यस्तै प्रहरीले निर्वाचन बिरोधी समुह तथा निर्वाचन वहिस्कार गर्नेमाथि निगरानी बढाएको जनाएको छ ।

त्यस्तै प्रहरीले मौन समयमा आचार संहिता उल्लंघन हुन नदिनकालागि विशेष सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । निर्वाचन सुरक्षालाई लक्षित गरेर सीमा सुरक्षा समितिले आईतबार बिहानदेखि १४ गते साँझ ७ वजेसम्मकालागि रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका सिमानाका सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्