रुकुममा मतदाताको पिडा, भोट हाल्न पुगेका मतदाता घर कसरी फर्कलान ?



धनवीर दाहाल, रुकुम ।
पुर्वी रुकुमको पुथाउत्तरगंगा गाँउपालिका भौगोलिक हिसावले निकै दुर्गम गाँउपालिकामा पर्दछ । पुथाउत्तरगंगाको साथै भुमे र सिस्ने गाँउपालिका पनि उत्तिकै दुर्गममा पर्छन् । पुथाउत्तरगंगा गाँउपालिकाका केही बस्तीहरु यस्ता छन् ।

जुन बस्तीबाट तोकिएको मतदान केन्द्र सम्म मात्र पुग्नलाई ६ घण्टा समय लाग्दछ । मतदाता मतदान गर्न मतदान केन्द्र पुगेर साँझ घर फर्कन अवेर भइसकेको हुन्छ । बृद्धबृद्धालाई झनै समस्या छ । पुथा उत्तरगंगा गाँउपालिकाको पेल्मामा रहेको मतदान केन्द्रमा साबिवको रन्मामैकोट ५ बाट पुग्न झन्डै ६ घण्टा समय लाग्ने स्थानीय सरोज बुढाले बताउनुभयो । बुढाका अनुसार बृद्धबृद्धालाई झनै समस्या हुने गर्दछ ।

मतदान केन्द्र पुग्नलाई बिहानै हिड्नुपर्छ, ६ घण्टामा पुगेर लाइन लागी मतदान गरी घर फर्कन त कुनै पनि हालतमा सकिँदैन । बुढाले भन्नुभयो “मतदान गरेर एक दिनमा फर्कन असम्भव छ ।” पुथा उत्तरगंगा मात्र होइन रुकुमको सिस्ने गाँउपालिकाको ठुलो सिस्नेबाट मतदान केन्द्र पाखापानी पुग्न पनि ३ घण्टा लाग्ने गर्दछ । यसै गरी भुमे गाँउपालिकामा पनि त्यस्तै समस्या छ ।

भुगोलको हिसावले सबै गाँउपालिका भन्दा ठुलो रहेका ति गाँउपालिकाका मतदातालाई यस पटक मतदान केन्द्र निकै टाढा भएको छ । गाँउपालिकाकै केन्द्रको लागी पटक पटक आन्दोलनमा रहेका तकसेराबासी र छुट्टै स्थानीय तहको माग गरिरहेका मैकोटबासीले पनि कम्तीमा मतदान केन्द्र पायक पर्ने ठाँउमा राख्न अनुरोध पनि गरेका गिए ।

दोस्रो चरणको निर्वाचनमा रुकुमका ३ ओटा स्थानीय तहका ३१ मतदान स्थल मध्ये ९ ओटा मतदान स्थल अति दुर्गममा छन् । दोस्रो चरणमा निर्वाचन हुने ३ स्थानीय तहमा २४ हजार ४ सय ८१ मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी भूमेमा ८ हजार ५ सय ५५, सिस्नेमा ८ हजार ३ सय ६८ र पुथाउत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्