भोट हाल्न गाउँ फर्किए मतदाता



विनोद सिंह विष्ट,बैतडी ।
करिब दुई दशकपछी हुन लागेको स्थानिय तहको निर्वाचनमा आफुलाई मन परेको प्रतिनिधी छनौट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाताको घर फर्किने लहर लागेको छ ।

बुधवार हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह जिल्लामा फर्किएका हुन ।

बिगत ७ बर्षदेखि भारतमा मजदुरी गर्दै आएका दोगडा केदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टले गाउँका प्रतिनिधि चयन गर्ने निर्वाचन भएकाले भोट हाल्न आएका घर फर्किएको बताउनुभयो ।

नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागी घर फर्किएको हु उहाँले भन्नुभयो“आफुले रोजेको तथा ईमान्दार, विकासवादी नेता छान्न मतदान गर्छु ।”

कर्मथलो तथा पढाईका लागी बैतडीमा रहेका देशका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ ।

पढाईका लागी बैतडी आएकोले निर्वाचनमा आफुले रोजेको प्रतिनिधी छान्न घर जान लागेको कैलालीको धनगढी उप महानगरपालिका घर भई गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर बैतडीमा अध्ययन गरिरहेका राजेन्द्र बमले बताउनुभयो ।

“मेरो नामावली धनगढीमा छ,त्यसैले धनगढी जान लागेको छु” ।

त्यसैगरी अध्ययनका तथा कामको शिलशिलामा लागि काठमाडाँै, महेन्द्रनगर ,धनगढी लगायतका सहरमा पुगेका मतदाता पनि मतदानका लागि घर फर्किएका छन । “मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि बैतडी आएको छु –दोगडा केदार –३ का हेमन्त गिरीले भन्नुभयो ।”

पार्टीभन्दा विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने सोच भने बनाएको स्थानिय भुवन भट्टको भनाई रहेको छ । ‘गाउँको विकास गर्ने तथा सबैलाई मिलाएर विकास गर्न सक्नलाई भोट दिन्छु ।’ उहाँले भन्नुभयो ।

लामो समयदेखि जनप्रतिनिधि बिहीन स्थानीय निकायमा जनताको प्रतिनिधि पुग्ने भन्दै बैतडीका स्थानिय बासिन्दा खुशी भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्